पत्रकार महासंघ युकेले कोरोना प्रभावित पत्रकारलाई २३ लाख सहयोग गर्ने

लण्डन : नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि २० लाख रुपियाँ अक्षय कोषमा राखिने छ भने ३ लाख रुपियाँ कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालिन कोषमा यसअघि केन्द्रीय समितिले ३० लाख रुपियाँ जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा १ करोड रुपियाँ जम्मा गर्ने लक्ष्य लिएको छ । युके शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गरेको जनाएको छ ।

यस्तै, शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो बैठकले शाखाले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, महासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय गरिएको छ ।

बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड १९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै २ हजार पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जानकारी गराउनुभएको थियो ।

शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी र नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लीलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी, पूर्ण गुरुङ र डा. जगन कार्की, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु मञ्जु भण्डारी खरेल, खेमराज रानाभाट, बम सूर्यवंशीको उपस्थिति रहेको थियो


प्रकाशित | ४ श्रावण २०७७, आईतवार १०:५४