नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी विवाद समाधानउन्मुख, अब स्थायी समितिको बैठक नसर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानउन्मुख देखिएको छ । आज बसेको सचिवालय बैठकबाट पार्टीको आन्तरिक संकट सहमतीको आधारमा हल गर्ने समझदारी बनेको हो । दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चार घण्टा चलेको छलफलमा आन्तरिक मतभेद अन्त्य गर्न विविध कोणबाट छलफल भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवाद समाधानउन्मुख देखिएको संकेत गर्दै आइतबार ३ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक पनि नसर्ने स्पष्ट पार्नुभयो । “पार्टी एकता रक्षा र सुदृढ गर्दै जनताको जनादेशअनुसार काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो ।

बैठकमा अध्यक्षसहित नेताहरुले विभिन्न विचार प्रस्तुत गर्नुभएको र समस्याको समाधान सहमतिकै आधारमा निकालौं भन्ने पक्षमा रहेको उहाँले बताउनुभयो । पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने गरी छलफल भएको जानकारी गराउँदै उहाँले जनताले दिएको जनादेश अनुसार नै काम गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो ।

पार्टीमा भएको छलफलमा आएका विषयहरुलाई समेत सम्बोधन गर्ने गरी कुन तरिकाबाट अघि बढ्न सकिन्छ सो विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक राख्ने बारेमा कुनै निर्णय नभएको समेत उहाँले जानकारी दिनुभयो ।


प्रकाशित | ३ श्रावण २०७७, शनिबार २०:०६