चल्ने भो जनकपुर- जयनगर रेल

काठमाडौं: सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन।

सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ। विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्नुहुन्छ ।

जनकपुर–जयनगर रेल्वे कम्पनीमार्फत रेल सञ्चालन हुनेछ। मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउनुहुन्छ । ‘रेल्वे कम्पनीको बोर्डले संगठन संरचना र कर्मचारी विनियमावलीको मस्यौदा तयार गरिरहेको छ। यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउन बाँकी छ’, उहाँले भन्नुभयो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०७:३०