नेकपाको सचिवालय बैठक आज ३ बजे बस्दै, बैठक आन्तरिक समस्या समाधानमा केन्द्रित हुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार ३ बजे बालुवाटारमा बस्ने तय भएको छ । । स्थायी कमिटी बैठक पटक पटक स्थगीत गर्दै भोली ४ गते बोलाइएको छ । स्थायी कमिटी बैठकअगावै सचिवालय बैठक आज बस्न लागेको हो ।

बैठक पार्टीको आन्तरिक समस्या समाधानमा केन्द्रित रहनेछ । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी तथा सरकार सञ्चालनमा देखिएका विवाद सल्टाइने विश्वास गरिएको छ ।

सचिवालय नेकपाको उच्च तहको कमिटि हो । जसमा पार्टीका दुईजना अध्यक्ष, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नेता ईश्वर पोखरेल, रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सदस्य हुनुहुन्छ ।

नेताहरुका अनुसार विद्यमान विवादलाई सचिवालयमार्फत सल्टाएर पुनः स्थायी कमिटी बैठक सञ्चालन गर्ने उद्देश्यसाथ आजको बैठक आव्हान गरिएको हो ।


प्रकाशित | ३ श्रावण २०७७, शनिबार ११:५८