डिप्रेसनः महिलालाई किन बढी ?

डा विश्वबन्धु शर्मा

डिप्रेसन मानसिक रोगको प्रयायबाची जस्तो भइसकेको छ। मानसिक सम्बन्धी जेसुकै समस्या परेपनि मानिसहरु ‘डिप्रेसन भएको छ’ भन्दै आउने गर्छन्। पहिले डिप्रेसन भन्न पनि मानिसहरु असजिलो मान्थे, अहिले त्यो स्थिति छैन। डिप्रेसनप्रतिको संकोच लगभग हटिसकेको छ भन्दा पनि हुन्छ।

मानिसहरु पहिला डिप्रेसन भएको कुरा पनि लुकाउने गर्थे भने अहिले लुकाउँदैनन्, सजिलैसँग ‘डिप्रेसन भएको छ’ भन्छन्। यो समस्या सवैलाई हुने रहेछ भन्ने भएको छ। ‘मेरो छोरालाई डिप्रेसन भएको छ, पढाई पनि छोड्यो’ भन्न हच्किदैनन्। यो राम्रो पक्ष हो।

यसमा अर्को एउटा नराम्रो पक्ष पनि सँगै छ। सवै मानसिक रोगलाई ‘डिप्रेसन’ भन्न थालिनु राम्रो होइन। साइकोसिस भएर अन्तिम अवस्थामा पुगेको छ त्यसलाई पनि ‘डिप्रेसन’ भनिदिन्छन्।

कुनै कुनै बाबुआमा, ‘मेरो छोरालाई डिप्रेसन भएको छ, इलाज गरिदिनुपर्‍यो भन्छन्। ‘के भयो ?’ भन्दा ‘लागुपदार्थ खान्छ’ भन्छन्। ‘बाङबुङ गर्छ, तोडफोड गर्छ, बसीखान दिएन, पैसा माग्छ। केही भनौँ भने हिर्काउला भन्ने डर, ल डा साव यसको डिप्रेसन ठीक पारिदिनुपर्‍यो’ भन्छन्।

सायद हामी चिकित्सकले पनि बढी डिप्रेसनका वारेमा मात्र चर्चा गर्‍यौँ। अथवा मिडियामा पनि डिप्रेसनबाहेक अरु मानसिक रोगका वारेमा त्यति चर्चा भएन।

डिप्रेसन बढी मात्रामा देखिने रोग हो। यसको चर्चा पनि धेरै भयो। आम मानिसलाई जानकारी पनि भयो, त्यसैले पनि ‘डिप्रेसन’ मानसिक रोगको प्रायबाची बन्न पुगेको होला।

अरु धेरै मानसिक रोग लाग्दा मानिसहरुले रोग भनेर स्वीकारै गर्दैनन्। उपचारको खोजीमा पनि प्रायः हिड्दैनन्। डिप्रेसन भएका विरामीहरुले चाहिँ बढी सचेत भएर उपचार गर्ने चाहना राखेको देखिन्छ। डिप्रेसनसँग सम्बन्धित रोग जस्तै ः एन्जाइटी (घवराहट), नर्भसनेस हुने भएको छ भने मानिसले रोगको महसुस गर्छन्। एकदम चरम अवस्था भएको वेला असक्त हुन्छन् र उपचार खोज्छन्।

डिप्रेसनका विरामीलाई धेरै राम्ररी सम्झाउन सकिने हुन्छ, निको हुँदा पनि डिप्रेसन पुरै निको हुन सक्छ। डिप्रेसनका विरामी पूर्णरुपमा पहिलेकै अवस्थामा फर्किन सक्ने र उत्तिकै क्रियाशिल हुनसक्छ। त्यस्तो अवस्थामा डाक्टरलाई पनि सन्तुष्टि मिल्छ।

हाम्रो शरीरको प्रतिरक्षा प्रणाली वा शरीरमा संक्रमण (भाइरस, ब्याक्टेरिया आदिबाट) भयो भने सामान्यतया ज्वरो देखापर्छ। मानिसलाई कुनै मानसिक आघात पर्‍यो, कुनै असफलता भयो, दिमागमा कुनै विषालु पदार्थको असर पर्‍यो, पोषणका कारणले असर गर्ने खालका घटना भयो, शरीरको कुनै हर्मोनहरुमा गोलमाल भयो र त्यसको प्रत्यक्ष असर दिमागमा पर्‍यो भने यस्तो अवस्थामा सामान्यतया डिप्रेनका लक्षणहरु देखिन्छन्। हाम्रो मन (मानसिक अवस्था र व्यक्तित्व) ले प्रतिकुल परिस्थितिमा प्रतिकृया देखाउँदा आमरुपमा देखापर्ने भनेको डिप्रेसनको लक्षण हो।

सामान्यतया डिप्रेसनलाई हल्का, मझ्यौला र कडा खालका भनेर छुट्याइन्छ। त्यस्तै गम्भिर मानसिक आघातबाट देखिने डिप्रेसन र मस्तिष्कको आन्तरिक गडबढीको कारणले देखिने डिप्रेसन गरी दुई प्रकारको भनेर पनि हेरिन्छ।

अरु कुनै घटनाहरु जस्तोः लागुपदार्थ सेवन गरिरहेको छ भने उसलाई डिप्रेसन हुनसक्छ। कडा रोगमा प्रयोग हुने केही औषधिहरु, अल्कोहल, मुटुको रोग, फोक्सोको रोग, ब्रेनमा ट्युमर, ब्रेन स्ट्रोक, गिदी सुक्दै जाने रोग लाग्यो, खानपिनबाट नकारात्मक असर पर्‍यो, भने पनि डिप्रेसन हुनसक्छ।

अनुभवका आधारमा भन्नुपर्दा डिप्रेसन भएका मानिसहरु मध्ये करिव २० प्रतिशतले आत्महत्या गर्छन्। उपचार गर्दागर्दै वा निको भइसकेको अवस्थामा जीवनमा आएका परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा आत्महत्या भएको हुनसक्छ। समग्रमा आत्महत्या गर्ने मानिसहरु मध्ये ८० प्रतिशत जति मानसिक रोग हुन्छ, त्यसमा मुख्य डिप्रेसन हुन्छ।

धेरैजसो डिप्रेसन हल्का खालको हुन्छ, र छोटो अवधिको हुन्छ। विरामीले आपूmलाई के भएको हो भन्ने थाहा नपाउँदै रोग निको भइसक्छ। त्यसैले हल्का डिप्रेसनका धेरैजसो विरामी डाक्टरकहाँ जाँदैनन्।त्यसबाहेक जसलाई यो रोगले लामै समय असर गर्छ ती मध्ये आधा जसो विरामीलाई डिप्रेसन भयो भन्ने थाहा नै हुँदैन। अरु नै रोगको आशंखामा गलत उपचार गर्दै बसेका हुन्छन्। जसलाई थाहा हुन्छ तिनीहरु पनि आधा भन्दा कम मात्र उपचार गर्न आउँछन्। जो उपचार गर्छन् उनीहरु मध्ये आधाभन्दा कमले मात्र उपचारलाई निरन्तरता दिन्छन्।

झण्डै ४० प्रतिशत मानिसलाई जीवनमा कुनै न कुनै वेला डिप्रेसन भएको हुन्छ। कुनै निश्चित काल खण्डमा समाजका सम्पूर्ण मानिसहरु मध्ये करिव पाँच प्रतिशतलाई डिप्रेसन भएको हुन्छ। सिजोफ्रेनिया चाहिँ १ प्रतिशत जतिलाई हुन्छ भनिन्छ।

डिप्रेसनको समस्या महिलाहरुमा पुरुषमा भन्दा दोब्बर नै बढी पाइन्छ। डिप्रेसनलगायत सवै भावनात्मक रोगहरु महिलाहरुमा बढी हुन्छ भनिन्छ। यसको कारण शारीरिक र मनोबैज्ञानिक मात्र नभई सामाजिक पनि हुनसक्छ।

महिलाहरुको शरीरमा हर्मोनको पृष्ठभूमि पनि फरक फरक हुन्छ। महिनावारी शुरु हुनु अघि, महिनावारी शुरु भएपछिको अवस्था, गर्भधारण गरेपछिको नौ महिनाको अवस्था, बच्चा जन्मिए पछि बच्चालाई स्तनपान गराउँदाको अवस्था, पचास वर्ष पछिको उमेरमा महिनावारी सुकेपछिको अवस्थालगायत महिलाको जीवनमा फरक फरक पृष्ठभूमी हुन्छ। यसरी विभिन्न चरणमा हुने हर्मोनलगायत शरीरको आन्तरिक परिवर्तनले डिप्रेसन आदि मूडसँग सम्बन्धित रोगको लागि उपयुक्त बातावरण बन्छ।

अर्को कुरा महिलालाई घर र बाहिरको बोझ, बच्चाहरु हुर्काउनु पर्ने बोझले गर्दा उनीहरु बढी तनावमा हुन सक्छन्।

पहिला पहिला एक पुरुष बराबर दुई महिलालाई डिप्रेसन हुन्छ भनिन्थ्यो। अहिले त्यही रुपमा नभए पनि पुरुषभन्दा महिलामा डिप्रेसनको समस्या बढी छ।

-(मानसिक रोग विशेषज्ञ डा विश्वबन्धु शर्माको पुस्तक मान्छेको मनको एक अंश)

स्रोत – स्वास्थ्य खवर


प्रकाशित | २० पुष २०७८, मंगलवार २०:२१

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *