आजबाट साझा यातायातको उपत्यकाका ८ वटा रुटमा बस संचालन

काठमाडौं : लामो समयको लकडाउनपछि सरकारले सार्वजनीक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै साझा यातायातले आजदेखि सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने भएको हो ।

साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयका अनुसार संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको हो । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् ।

साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिने जनाएको छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न, बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न आग्रह गरिएको छ ।

यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ । गत सोमबारदेखि मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार १०:०१