काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैर आवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।
राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताउनुभयो । उहाँले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताउनु भयो ।
उहाँले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।
संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैर आवासीय नेपाली संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो ।
संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ । यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो ।
यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।
राहत सामाग्री वितरणको संघका अध्यक्ष डा केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।
शर्मा नेतृत्वको एनआरएनएको टोलीले पनि हस्तान्तरण गर्यो राहत सामग्री
राजेन्द्र कुमार शर्मा (आरके) नेतृत्वको गैर आवासीय नेपाली संघले पनि जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाडमा पुगेर त्रिपाल ५०० सय थान, म्याट्रेस २ हजार मिटर, ब्ल्याङकेट ÷कम्बल ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरेको हो ।
प्रकाशित | २१ कार्तिक २०८०, मंगलवार २१:०७