स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता छैन : सूर्य थापा, सल्लाहकार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा कुनै किसिमको खाता नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित खबर झुटो भएको प्रष्टिकरण दिनुभएको हो ।

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५ दशमलव ५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि थापाले निकालेको प्रेस नोटमा उल्लेख छ ।

थापाले यसलाई बदनियतका साथ प्रकाशित गैरजिम्मेवारपूर्ण काम भन्नुभएको छ । ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा होइन भन्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको सहासिक कदम र सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेका बेला प्रधानमन्त्रीलाई बदनाम गराउने षडयन्त्र भैरहेको थापाको दावी छ । यस्तो छ प्रेस बिज्ञप्ति :

“ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७


प्रकाशित | ३१ असार २०७७, बुधबार १३:३९