सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ९२ हजार ८ सय निर्धारण

काठमाण्डौ : आज सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महँगो भएको महासङ्घ ले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज रेकर्ड बनाएको छ ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ ।


प्रकाशित | ३१ असार २०७७, बुधबार १३:१३