काठमाडौं : वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ ।
विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ । पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ ।
विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई छनोट नहुँदासम्म कुनै ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का लगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ ।
वैदेशिक रोजगारीका लागि कामदार पठाउन भन्दै अहिलेसम्म श्रम कार्यालय ताहाचलबाट करिब एक हजार ८०० कामदारको मात्र पूर्वस्वीकृति लिएको विभागले जनाएको छ । विभागबाट पूर्वस्वीकृति नलिई कामदार भर्नासम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन । तर पछिल्लो समय पूर्वस्वीकृति नलिई मलेशिया रोजगारीको नाममा झण्डै एक लाखभन्दा बढी कामदारबाट अवैधरूपमा ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ भन्दै रकम असुल भइरहेको पाइएको विभागले जनाएको छ ।
प्रकाशित | २० कार्तिक २०७६, बुधबार ०८:१४