हावाको गति परिवर्तन नभए सलह फेरि नेपाल प्रवेश गर्ने विज्ञहरुको चेतावनी

काठमाडौं : विज्ञहरुले हावाको गति परिवर्तन नभए सलहको ठूलो झुण्ड नेपाल आउन सक्ने अनुमान गरेका छन् । आज नेपालगञ्ज, कैलाली र कपिलवस्तुबाट सलह प्रवेश गर्न सक्ने विज्ञहरुको अनुमान छ । तर आजदेखि हावाको गति केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ ।

वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले नेपालका सीमा क्षेत्रबाट एक सय किलोमिटरको दूरीमा सलहका झुण्ड सक्रिय भएकाले तिनीहरू नेपाल आउँन सक्ने सम्भावना बढी रहेको बताउनुभयो ।

भारतको लखनउ, बहराइचमा सक्रिय रहेका सलहको झुण्ड नेपाल आउनसक्ने धेरै सम्भावना छ । सुवेदीका अनुसार अहिलेकै हावाको मोड रहेमा आज र भोलीसम्ममा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तरप्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।

दुई साताअघि नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भोग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका छन् ।

सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले नेपालमा धेरै ठाउँबाट सलह प्रवेशको सम्भावना देखिएपछि त्यसको अनुगमन तथा प्रदेश तथा स्थानीय तहहरूलाई त्यसको जानकारी दिइएको बताउनुभयो ।

शनिबार दाङमा प्रवेश गरेको सहल अहिले प्यूठानको प्यूठान नगरपालिका र माण्डवी गाउँपालिकामा सक्रिय देखिएको छ। त्यहाँका कृषकहरूले सामूहिक रुपमा सलह भगाउन, आगो बाल्ने, टिन बजाउने गरेकाले सलह बस्न नपाएको हुँमागाँइको भनाइ छ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार ०९:३१