काठमाण्डौमा मयूर यातायात सञ्चालनमा आयो, साझाका बस भने साउन १ गतेदेखि चल्ने

काठमाण्डौ : काठमाण्डौ उपत्यकामा सोमबारदेखि केही सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । सोमबारदेखि मयूर र संयुक्त यातायातका केही बस सञ्चालनमा आएका हुन । मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको हो ।

मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ । यो सङ्ख्या मङ्गलबारदेखि बढाइनेछ ।

मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार गाडी चलाएको पनि जनाएको छ । ४०–४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको श्रेष्ठले बताउनुभयो ।

उता सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि साझा यातायातका बस सञ्चालनमा आएका छैनन । साझा यातायात समितिका अनुसार साझा साउन १ गतेदेखि सञ्चालनको तयारी भइरहेको छ । अहिले सामान्य गाडी मर्मतको कामसँगै सुरक्षा सावधानीका विषयमा तयारी भइरहेकाले केहि दिनमै साझा बस सञ्चालनमा ल्याइने समितिले जनाएको छ ।

साझाले १ गते केही बस चलाउने र त्यसपछि अवस्था हेरेर गाडीको सङ्ख्या बढाउने जनाएको हो । साझाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा मात्रै अहिले बस चल्नेछ । साझाका ७१ वटा बस छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने तत्काल गाडी चलाउन नसक्ने भन्दै सरकारसँग विभिन्न माग राखिरहेको छ । उसले आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी नभएसम्म गाडी नचलाउने अडान लिएको छ ।


प्रकाशित | २९ असार २०७७, सोमबार १८:४६