रुसी आक्रमणपछि युक्रेनका झन्डै १ करोड मानिस घर छाडेर भाग्न बाध्य

काठमाडौं – रुसको आक्रमणपछि जनसङ्ख्याको एक चौथाइभन्दा बढी युक्रेनीहरु घर छाडेर भाग्न बाध्य भएका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गर्दै रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेको बताउनुभएको हो ।

यूएनएचसीआरका अनुसार हालसम्म प्रत्येक १० युक्रेनी शरणार्थीमा छ जना अर्थात २० लाख ५० हजार ३९२ जनाले पोल्याण्डको सीमा पार गरेका छन् । युक्रेनबाट पश्चिमतर्फ पोल्याण्ड, हंगेरी र स्लोभाकिया जानेहरूमध्ये धेरैले त्यसपछि युरोपको शेन्जेन खुला सीमा क्षेत्रबाट अन्य राष्ट्रहरूमा यात्रा गर्ने गरेका छन् ।

त्यस्तै, तथ्याङ्क अनुसार, फेब्रुअरी २४ मा युद्ध सुरु भएदेखि लगभग ३४ लाख युक्रेनीले देश छाडेका छन्, जसमा छिमेकी पोल्याण्डमा दुई लाख भन्दा बढी, रोमानियामा ५ लाख ३० हजार र मोल्डोभामा ३ लाख ६२ भन्दा बढी भागेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार भाग्नेमा करिब ९० प्रतिशत महिला र बालबालिका छन्।

उता संयुक्त राष्ट्र सघ बाल निकाय युनिसेफले विदेश पलायन भएकाहरूमध्ये १५ लाखभन्दा बढी बालबालिका रहेको बताएको छ।

संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले पनि १ लाख ६२ हजार तेस्रो देशका नागरिक युक्रेनबाट छिमेकी देशहरुमा भागेको बताएको छ।

आफ्नो घर छोडेर भाग्ने मध्ये धेरै युक्रेनको सीमाभित्रै बसेका छन्। देशमा करिब ६५ लाख आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार २१:२०