म्याग्दी बाढी पहिरोमा बेपत्ता १८ जनाको शव फेला, १७४ जनालाई सुरक्षितस्थल सारियो

बेनी : म्याग्दी बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत डाक्टरप्रसाद चौधरीका अनुसार मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकाका १८ जनाको शव भेटिएको हो ।

धौलागिरी गाउँपालिका–६ मराङमा १० जनाको शव भेटिएको छ । धौलागिरी गाउँपालिका–६ मराङका सुकना लामगादे, आशिस लामगादे, आयुस लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश केसीको शव फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मालिका गाउँपालिका–७ बिममा पहिरोमा परी बेपत्ता भएकामध्ये आठ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार मालिका गाउँपालिका–७ बिमका ४० वर्षीय विष्णु पौडेल, चार वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, बीरबहादुर नेपाली, बीर बहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको मृत्यु भएको छ । उता रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलिमान छन्त्याललाई खोलाले बगाकोमा शुक्रबारै शव फेला परेको थियो ।

पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरी उपचार थालिएको छ । उनीहरुलाई शनिबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । शनिबार बिहानबाट प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार थालिएको हो ।

त्यस्तै, धौलागिरी गाउँपालिका–६, कल्लेनीका ८९ जनालाई सुरक्षित स्थलमा राखिएको छ । त्यस्तै रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।


प्रकाशित | २७ असार २०७७, शनिबार १६:०६