कोरोना विरुद्धको लडाईमा नेपाल सफलतातर्फ उन्मूख

काठमाडौं : नेपाल कोरोना भाइरस विरुद्धको लडाईमा सफलतातर्फ उन्मूख बन्दै गएकोे छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ भने अहिलेसम्म समुदायमा कोरोना संक्रमण नदेखिएको सरकारी दावी छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल अब कोरोना विरुद्धको लडाईमा सफलतातर्फ उन्मुख भएको बताउनुभयो । प्रवक्ता गौतमले भन्नुभयो, ‘पछिल्ला दिनहरुको तथ्यांकलाई आधार मान्दा र अधिकांश क्वारेन्टाईनमा बसेकामा मात्र संक्रमण देखिनु सफलतातर्फ उन्मुख भएको संकेत हो ।’

बिहीबार नेपालमा कोरोना भाइरसका १०८ जना नयाँ सङ्क्रमित देखिए । बुधबार २५५ जनामा देखिएको संक्रमण दैनीक घट्दै गएको हो । नेपालमा अहिलेसम्म कुल सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ५३१ पुगेको छ । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने विरामीको सङ्ख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका विरामीको सङ्ख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना विरामी रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमितमुक्त भएर घर फर्केका छन् । हालसम्म सात हजार ८९१ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिलेसम्म आठ हजार ६४० जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रीय रहेको छ । सबै सङ्क्रमित आइसोलेशनमा छन् । अहिलेसम्म दुई लाख ७१ हजार १४५ जनामा कोरोना सङ्क्रमण सम्बन्धी पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म २८ जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको छ। रौतहटमा मात्रै १ हजार ४ सय ६५ जना संक्रमित छन्।

कैलालीमा ९०८, दैलेखमा ८१२, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५५, सर्लाहीमा ६९४, दाङमा ६४३, अछाममा ६२०, बाजुरामा ६१५, डोटीमा ५७७, पाल्पामा ५४९, धनुषामा ४९२, कञ्चनपुरमा ४४३ लगायत संक्रमित भेटिएका छन्। देशभर १९ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३० जिल्लामा संक्रमितको संख्या सयभन्दा कम छ।

त्यस्तै, सरकारले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा पाँच हजार जनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको छ । त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा बिहीबारदेखि स्वाब संकलन सुरु गरेको छ।

महाशाखाका सर्भिलेन्स तथा अनुसन्धान शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले उपत्यकाका विभिन्न अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी र सेवाग्राहीको नमुना संकलन भइरहेको जानकारी दिनुभयो ।


प्रकाशित | २५ असार २०७७, बिहीबार १९:२६