अनलाइन मार्फत गरिएको एनआरएनए अमेरिकाको साधारणसभा तथा ज्ञान सम्मेलन उपलब्धीमूलक

न्यूर्योक : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको नवौं बार्षिक साधारण सभा र राष्ट्रिय ज्ञान सम्मेलन भब्यताका साथ सम्पन्न भयो । साधारणसभा भब्यताका साथ सम्पन्न मात्र भएन कि वर्तमान कोभिड १९ लाई मध्यनजर गर्दै जुममार्फत आयोजना गरिएको सो कार्यक्रमले विश्वभरिका एनसिसीलाई प्रविधिको भरपुर उपयोग गर्दै कम खर्चमा पनि गर्न सकिने स्पष्ट सन्देश प्रवाह गरेको छ ।

जुलाई ३ मा सुरु भई जुलाई ५, २०२० मा सम्पन्न संघको नवौं साधारण सभाको समुद्घाटन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले गर्नुभएको थियो । जुलाई ३ मा समारोहको उद्घाटन कार्यक्रम गरिएको थियो भने जुलाई ४ मा राष्ट्रिय ज्ञान सम्मेलन तथा जुलाई ५ मा संघको बन्द सत्र सम्पन्न भएको थियो ।

अनलाइन मार्फत गरिएको साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको नेपाल सरकारका परराष्ट्र मन्त्री ज्ञवालीले नेपालबाट नै कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । गैर आवासीय नेपाली संघ अमेरिकाको नवौं बार्षिक साधारण सभालाई नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभकामना सन्देश प्राप्त भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री ज्ञवालीका साथैं विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइराला, पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तैं, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक तथा संरक्षकहरु, पूर्व अध्यक्षहरु, एनआरएनए आइसिसीका आइएस पदाधिकारीहरु, आइसिसीका पूर्व पदाधिकारीहरु, आइसिसीका सल्लाहकारहरु, अमेरिकाज् क्षेत्रका पदाधिकारीहरु, एनआरएनए एनसिसीका सल्लाहकारहरु, पूर्व सल्लाहकारहरु, अमेरिकामा क्रियाशिल विभिन्न संघ संस्थाका प्रमुखहरु, विभिन्न क्षेत्रबाट एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका महासचिव पशुपति पाण्डेले संचालन गर्नुभएको कार्यक्रम अध्यक्ष सुनील साहको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष एवं साधारणसभाका कन्भेनर डा. अर्जुन बञ्जाडेको स्वागतमा उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।

साधारण सभाको उदघाटन सुरु हुनु अघि सुरुवातमा अतिथि र दर्शकहरुको सम्मानमा स्वागत स्वरूप चर्चित साहित्यकार जोडी सरु गुरागाईं र मुरारी गुरागाइले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो । अतिथि र दर्शकहरुको सम्मानमा स्वागत स्वरूप साहित्यिक रचनाको कार्यक्रम मिडिया कोर्डिनेटर सतिस चापागाईले संचालन गर्नुभएको थियो ।

साधारण सभाको दोस्रो दिन जुलाई ४ मा अनलाइन मार्फत राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा ८ वटा सिम्फोजियम र ६ वटा टाउन हल साथै साहित्य सम्मेलन आयोजना गरिएको थियो । विश्वभर रहनुभएका विज्ञ नेपाली प्रोफेशनलहरुको यो कार्यक्रममा सहभागिता रहेको थियो । ज्ञान सम्मेलनमा बिज्ञान र प्रविधिका विभिन्न नयाँ आविष्कार र तिनका आयामहरुका बारेमा छलफल गरिएको थियो । साथै अहिलेको कोरोनाको कहरसँग सम्बन्धित विभिन्न क्षेत्रमा रहेर छलफल समेत भएको थियो ।

सोही अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको क्षेत्रीय संयोजकहरु, विभिन्न समिति, टास्कफोर्स तथा च्याप्टरहरूवाट आ–आफ्ना प्रगति बिवरण पेश भएको थियो । अमेरिका तथा अमेरिका भन्दा बाहिर रहनुभएका गैर आवासीय नेपाली बैज्ञानिक र बिभिन्न पेशा र ब्यवसाय गरेकाहरुले यो सम्मेलनमा पेशागत कार्यपत्र पेश गर्नुभएको थियो । सबै सिम्फोजियम र टाउन हलहरु उपयोगी भएको एनआरएनएले जनाएको छ ।

डा. तारा सिग्देलको संयोजनमा भएको सम्मेलनको उद्घाटनमा वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले नोट स्पिकरको रुपमा र म्यागासासे पुरस्कार विजेता वैज्ञानिक महाविर पुनले बिशेषको अथितिको रुपमा धारणा राख्नुभएको थियो । यसैगरी, नारायण पुरीको संयोजनमा संघको कला तथा कलाकार समितिले मनोरञ्जनात्मक प्रस्तुती समेत दिएको थियो । सो सम्मेलनको उद्घाटन कार्यक्रम संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा भएको थियो ।

साधारण सभाको तेस्रो दिन जुलाई ५ मा बन्द सत्र सम्पन्न भएको थियो । संस्थाको आन्तरिक जीवन र सदस्यहरुको मनोभावना बुझ्ने कोसिस गर्दै बिभिन्न बिषयमा व्यापक छलफल र निर्णय गरियो । बन्द सत्र करिव १५ घण्टा चलेको थियो । विधान सभा समेत रहेकाले संस्थाको विधान संसोधनका लागि प्रस्ताव गरिएकोमा छलफलपछि सर्वसम्मतीले विधान परिमार्जन गरिएको छ । परिमार्जित विधान अनुसार विभागिय संरचनामा जाने संघको केन्द्रीय कार्यसमितिमा एक महिला उपाध्यक्ष, एक महिला सचिव पद थप गरिएको छ भने क्षेत्रीय संयोजकहरु पनि कार्यसमिति भित्र रहने छन् बन्दसत्रमा महासचिव पशुपति पाण्डेले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । जुन साधारणसभामा व्यापक छलफल र प्रश्नोत्तरपछि सर्बसम्मतीले पारित गरिएको थियो ।

त्यसैगरी, कोषाध्यक्ष नेत्र बन्धु पोखरेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनपनि छलफल पश्चात सर्वसम्मतीले पारित भएको थियो । यसैगरी, उपाध्यक्ष समेत रहनुभएका बिधान संशोधन समितिका संयोजक बि आर लामाले प्रस्तुत गर्नुभएको बिधान सशोधन प्रस्ताव समेत छलफलपछि सर्बसम्मतीले पारित भएको थियो ।

बिधानत अधिबेशन हुनुभन्दा अगाडीको साधारण सभाले निर्वाचन समितिको गठन गर्ने ब्यबस्था भएकोले कार्य समितिले ल्याएको प्रस्ताव अनुसार विश्व बराललाई प्रमुख निवार्चन आयुक्त चयन गरेको छ । त्यस्तैं, साधारणसभाले निवार्चन आयुक्तहरुमा एटोर्नी बासु डी फुलारा, आईसिसि सदस्य शिवराज पौडेल, गोविन्द श्रेष्ठ, र कुलमणी आचार्यलाई चयन गरेको महासचिव पशुपति पाण्डेले जानकारी गराउनुभयो । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।


प्रकाशित | २४ असार २०७७, बुधबार २०:०९