प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्याण्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका नवनियुक्त प्रधानमन्त्री जिन कास्टेक्सलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार र आफ्नोतर्फबाट मङ्गलबार बधाई सन्देश पठाउँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल र फ्रान्सबीचको लामो मैत्रीपूर्ण सम्बन्धसँगै जनता जनताबीचको सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले थप बलियो सम्बन्ध बनाउन दुई देशबीच बलियो आर्थिक साझेदारीको आवश्यकता रहेको औँल्याउनुभएको छ । साथै फ्रान्सले नेपालको सामाजिक आर्थिक विकासका लागि गरिरहेको सहकार्यको सराहनासमेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आयरल्याण्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडिलाई सफल कार्यकालको शुभकामना सन्देश पठाउनुभएको छ । सन्देशमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा दुई देशले सहकार्य गरिरहेको स्मरण प्रधानमन्त्री ओलीले गर्नुभएको छ । साथै हालै भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको निर्वाचनमार्फत दुई वर्षका लागि अस्थायी सदस्य चुनिएकोमा आयरल्याण्डलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले दुवै शुभकामना सन्देशमा कोभिड–१९ महामारीविरुद्ध सहकार्य र सद्भावका साथ अन्तर्राष्ट्रिय समुदायले लड्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तैगरी फ्रान्स र आयरल्याण्डमा रहेका नेपाली नागरिकको जारी सङ्कटमा समयमा गरेको रेखदेखका लागिसमेत प्रधानमन्त्री ओलीले दुवै देशका सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।


प्रकाशित | २३ असार २०७७, मंगलवार १६:१४