काठमाडौं : सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो ।
सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।
यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् । कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति तय भएको छैन ।
तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ ।
प्रकाशित | २३ असार २०७७, मंगलवार ०९:४२