काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र प्रतिनिधित्व गर्ने राजनीतिक संयन्त्रको बैठक वर्षमा चार पटक आयोजना गर्ने भएको छ । यसअघि वर्षमा दुई पटक नगर अधिवेशनको पूर्व सन्ध्यामा मात्र बोलाइने गरिएको सर्वदलीय बैठक अब भने तीन÷तीन महिनामा बोलाइने भएको हो ।

नगरपालिकाले बजेटको पूर्वसन्ध्यामा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कार्कीले राजनीतिक दलसँग निरन्तर संवाद र छलफल आवश्यक पर्ने भएकाले सबैको सल्लाह बमोजीम अब तीन महिनामा एक पटक बैठक आह्वान गर्ने बताउनुभयो ।

समृद्ध नगर बनाउने सबैको चाहना रहेको बताउनुहुँदै नगरलाई कस्तो बनाउने भन्ने जिम्मेवारी जनप्रतिनिधिको भए पनि त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

मेयर कार्कीले आफै कुनै एक पार्टीबाट उम्मेदवार बनेर निर्वाचीत भएपनि त्यसपछि नगरबासीको साझा भएको भन्दै सबैलाई समान दृष्टिकोणले हेर्ने गरेको र ब्यवहारमा कार्यान्वयन गरिरहेको स्पष्ट पार्नुभयो ।

अन्तरक्रिर्या कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रतिनिधिहरुले मेयर कार्कीको नेतृत्वमा एक वर्षमा धेरै सकारात्मक कामहरु भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो । राजनीतिक दलहरुसँग निरन्तर छलफल र संवाद गर्दै सर्वपक्षीय भेला समय समयमा आयोजना गरेमा काम गर्न थप सहयोग पुग्ने उनीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख कार्कीले निर्वाचीत भएपछिको एक वर्षमा हासिल भएका महत्वपूर्ण उपलब्धीहरुबारे पनि जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, विभिन्न वडाका वडाध्यक्षहरुले पछिल्लो समय भइरहेको गतिविधि र प्रगतिको विषयमा बोल्नु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।













प्रकाशित | ९ असार २०८०, शनिबार २०:२९