प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने, ‘मलाई साथ नदिने जति जानुस्’

काठमाडौं : आफूलाई हटाउन बहुमत-अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ । तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला ।’

अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान ओलीले मन्त्रीहरूमाझ पनि दोहोर्‍याए। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने गरी आफूले अहिले कुनै पनि हालतमा राजीनामा नदिने उनको भनाइ थियो ।

‘राष्ट्रपतिमाथि पनि महाभियोग लगाउने तयारी भएको कुरा आएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री रामेश्वर राय यादवले भने, ‘विकास, ऐतिहासिक उपलब्धि र स्थिरता विरोधी शक्ति सक्रिय भएका छन् । तिनलाई निस्तेज पार्नु अहिलेको मेरो आवश्यकता हो ।’

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउन स्थायी समितिका बहुमत लागेपछि नेकपा एकता संकटमा परेको छ । एकीकरणको २६ महिनामै पार्टी फुटको संघारमा पुगेको छ ।

‘राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमाथि नै अहिले धावा बोल्ने काम भइरहेको छ। गाह्रो छ अहिलेको अवस्था । राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगिन्छ भने मैले राजीनामा दिने हो । अहिले त दुवै कमजोर अवस्थामा छन् । यस्तो बेला मैले आफ्नो दायित्वबाट भाग्न मिल्दैन। म राजीनामा दिन्नँ, प्रतिवाद गर्छु,’ प्रधानमन्त्री ओलीले भने।

समसामायिक राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिन आफूले मन्त्रीहरूलाई बालुवाटार बोलाएको भन्दै आफ्नो सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता कठिन मोडमा पुगेको र त्यसले स्थितिलाई अत्यन्तै नाजुक बनाएको बताएका थिए। ‘स्थिति अब कस्तो हुन्छ, के हुन्छ भन्न गाह्रो हुने भयो। मैले मात्र चाहेर पार्टी अब एक रहन सक्ने स्थिति रहेन।’

प्रधानमन्त्रीले आफू र राष्ट्रपतिका विरुद्धसमेत षड्यन्त्रहरू भइरहेको बताएका थिए। ‘मेराविरुद्ध षड्यन्त्र भएको छ। म मात्र होइन, सम्मानित राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने जस्ता कुरा आइरहेको छ। कानुनी परामर्श लिएरै कतिपय साथीहरू लागेको देखिएको छ। त्यस्तो अवस्थामा मैले पनि कदम चाल्नुपर्ने हुन सक्छ’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीको भनाइ थियो ‘सम्मानित राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध भइरहेका षड्यन्त्रलाई बाइफोर्स, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ। म बाइस्टेप, बाइफोर्स कदम चाल्दै छु, तपाईंहरू कता लाग्ने हो निर्धारण गर्नुस्। हुल्लडहरूको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ।’

ओलीले मन्त्रीहरूसँग बालुवाटारमा छलफलअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर आएका थिए। भण्डारीसँग झन्डै पौने दुई घण्टा छलफल गरेर निवास फर्किएका ओलीले पार्टीका नेताहरूले संवैधानिक दृष्टिले पनि अनुपयुक्त हुने गरी कदम चाल्न खोजेको र त्यसको प्रतिवाद आफूले गर्ने बताएका थिए।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत बहुमत स्थायी समिति सदस्यले ओलीको राजीनामा माग गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मदिनमा आयोजित कार्यक्रममा आफ्नो सरकारविरुद्ध भारतीय राज्य संयन्त्र सक्रिय भएर लागेको र त्यसमा नेपालका नेताहरू पनि परिचालित भएको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर स्थायी समिति यसमै केन्द्रित भई प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्दै आएको छ।

एक दिन बैठक स्थगित गरी सहमतिको खोजी प्रयास गरे पनि सहमति जुट्न नसकेपछि दुवै पक्ष आआफ्ना आन्तरिक तयारीमा लागेका छन्। त्यही क्रममा प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिलाई भेटेर फर्केपछि मन्त्रीहरूलाई बोलाएर बिफ्रिङ गरेका हुन्। आजको अन्नपूर्ण पोष्टबाट


प्रकाशित | २१ असार २०७७, आईतवार ०८:१६