नेपाल फर्कन वा भ्रमण गर्न इच्छुक ब्यक्तीहरुलाई फारम भरिदिन एनआरएनए अमेरिकाको अपिल

न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाल फर्कन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरुलाई फारम भरिदिनु हुन अपिल गरेको छ । एनआरएनए अमेरिकाले कोविड १९ को कारणले नेपाल जान नसकेका तर नेपाल फर्किन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरूका सम्बन्धमा विवरण सङ्कलन गर्न सुरु गरेकाले फारम भरिदिनु हुन अपिल गरेको हो ।

एनआरएनए अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘वर्तमान नेतृत्व हाल अमेरिकामा बस्ने वा अमेरिकाको भ्रमणमा रहेका र नेपाल फर्किन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरूका कोविड १९ को कारणले उत्पन्न समस्यासँग अवगत रहेको छ । त्यसैले, नेपाल फर्कन कोविड १९ को कारणले नसकेका तर नेपाल फर्किन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरूका सम्बन्धमा विवरण सङ्कलन गर्न सुरु गरेकाले इच्छुक ब्यक्तीहरुलाई फारम भरिदिनु अपिल गर्दछ ।’

हालै मात्र एनआरएनए, अमेरिकाका अध्यक्ष सुनिल साहले नेपालका परराष्ट्र मन्त्री र अमेरिकाका लागि नेपाली राजदूतसँग यिनै र अन्य विषयमा छलफल गर्नुभएको थियो । छलफलसँगै एनआरएनए अमेरिकाले फारम भर्न अपिल गरेको हो ।

एनआरएनए अमेरिकाले भनेको छ, ‘ हामीलाई तपाई र तपाइजस्तै अवस्था बाट गुज्रेका अन्य व्यक्तिहरूलाई सहयोग गर्ने अवसर दिनुहोस् । तपाईबाट प्राप्त विवरणका आधारमा गैर आवासीय नेपाली संघ अमेरिकाले तपाईको तर्फबाट नेपाल सरकारसँग पैरवी गर्ने छ र आवश्यकता अनुसार अन्य निकाय सँग पनि समन्वय गर्ने जानकारी गराउन चाहन्छौ ।’


प्रकाशित | १४ बैशाख २०७७, आईतवार २१:१९