च्याम्पियन्स लिग हारेपछि बार्सिलोनामा हलचल

एजेन्सी : लगातार चौथो वर्ष युरोपियन च्याम्पियन्स लिगबाट आउट भएपछि स्पेनिस बार्सिलोनामा यतिबेला ठूलो हलचल पैदा भएको छ । २ दिनअघि सेमिफाइनलमा इंग्लिस टोली लिभरपुलसँग दोस्रो लेगमा ४–० को लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट आउट भएपछि बार्सिलोनाका खेलाडीदेखि लिएर बोर्डलाई समेत तनाव छ ।

स्पेनिस मिडिया रिपोर्टअनुसार बार्सिलोना च्याम्पियन्स लिगबाट आउट भएपछि आगामी समर सिजनमा टोलीमा ठूलो फेरबदल हुने देखिएको छ । खास गरी एनफिल्डको खराब प्रदर्शनपछि बार्सिलोनाका ‘केही स्टार खेलाडी’को भविष्य संकटमा परेको छ ।

लिभरपुलको घरमा भएको खेलमा बार्सिलोनाले खाएका ४ गोलमा २ गोल जोर्डी अल्बाको गल्तीले भएको थियो । सोही खेल दौरान कप्तान लिओनल मेस्सी अल्बासँग मैदानमै रिसाएका थिए ।
त्यस्तै, सो खेलमा उरुग्वेन फरवार्ड लुइस स्वारेजको प्रदर्शन झन् खराब रह्यो । विश्व फुटबलमै एक राम्रा फिनिसरका रूपमा कहलिएका स्वारेजले लिभरपुलविरुद्ध कुनै प्रभाव नै देखाएनन् । स्वारेजको अहिले चर्को आलोचना भइरहेको छ ।

त्यसैगरी, बार्सिलोना लिभरपुलसँग पराजित हुनुमा ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई बढी दोषी मानिएको छ । क्लबले कीर्तिमानी १४५ मिलियन पाउन्डमा खरिद गरेका स्टार खेलाडी कोउटिन्हो लिभरपुलविरुद्ध बिर्सनलायक प्रदर्शन गरेका थिए
कोउटिन्होको प्रदर्शनबाट कप्तान मेस्सी बेखुसी रहेको बताइन्छ । सो खेलमा मिडफिल्डर सर्जियो बुस्केट्स र इभान राकिटिकले पनि बिर्सनलायक प्रदर्शन गरेका थिए ।

स्पेनिस मिडियाअनुसार अहिले बार्सिलोनामा केही व्यक्तिको जागिर धरापमा छ भने पहिलो नम्बरमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डे हुन् । त्यसपछि कोउटिन्हो र तेस्रो नम्बरमा स्वारेज । राकिटिक र अल्बा पनि डेन्जर जोनमा रहेको बताइन्छ ।

बार्सिलोनाले समर सिजनमा प्रतिस्थापन गर्ने खेलाडीमध्येका प्राथमिकतामा रहेका खेलाडी हुन्, स्वारेज र कोउटिन्हो । यी दुवै खेलाडीको प्रदर्शनबाट बार्सिलोनाको बोर्ड असुन्तष्ट छ ।

‘मुन्डो डेपोर्टिभो’मा प्रकाशित रिपोर्टअनुासर बार्सिलोनाका अध्यक्ष र खेल निर्देशकले शुक्रबार प्रशिक्षक भाल्भर्डेसँग उनको भविष्यबारे निर्णय गर्न बैठक गर्दैछन् । बार्सिलोनाले कोउटिन्हो, स्वारेज, राकिटिक र अल्बाको भविष्यबारे पनि बोर्डमा छलफल गर्ने तयारी गरेको बताइएको छ ।

रिपोर्टअनुसार बार्सिलोनाले कोउटिन्हो र राकिटिक दुवैलाई प्रतिस्थापन गर्ने सम्भावना बढी छ । किनभने, उसले डच खेलाडी फ्रेन्की डे जोङलाई अनुबन्ध गरिसकेको छ भने अर्थुर मेलो बार्सिलोनामा अहिले भरपर्दा खेलाडीका रूपमा उभिएका छन् ।

यता, क्लबले डच क्लब आयाक्सबाट डिफेन्डर डि लिग्टलाई भित्र्याउन सके प्रेन्च डिफेन्डर सामुएल उम्टिटीलाई पनि बेच्ने तयारी गरेको छ । च्याम्पियन्स लिगको पराजयबाट विचलित भएको बार्सिलोनाले आक्रमण लाइन बलियो बनाउन एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजम्यानलाई अप्रत्यासित रूपमा क्याम्प नोउ उतार्ने सम्भावना बढेको छ ।

रिपोर्टअनुसार यतिबेला बार्सिलोनाले यो सिजनको अन्त्यसँगै प्रशिक्षक भाल्भर्डे, कोउटिन्हो र स्वारेजलाई प्रतिस्थापन गर्ने खेलाडीको सूचीमा प्राथमिकतामा राखेको छ । तर, यसको निर्णय कोपा डेल रे फुटबलको फाइनल खेलपछि मात्रै हुनेछ । सो खेलमा बार्सिलोनाले उपाधिका लागि मे २५ मा भ्यालेन्सियासँग खेल्दैछ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १६:५९