मानिस बन्न बाँकी जिन्दगी

कैलाशकुमार सिवाकोटी

मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिनँ,
जाति र पाती छुट्याउने रीतलाई म मान्दै मान्दिनँ ।

बुझी वा नबुझी, जानी वा नजानी बाल्यकालमै सुनेकोमात्र होइन, तिहारमा सामूहिक देउसी–भैलो खेल्दा अरूको स्वरमा स्वर थपेको गीत हो । मिले पनि नमिले पनि कम्मर हल्लाएको गीत हो । लाग्छ, आज त्यो गीतले तेरो मानवता, तेरो समानता कहाँ छ भनी प्रश्न गरिरहेछ ।

विद्यालयमा अध्ययनताका मेरा सहयात्रीमध्ये एकजना थिए– मानबहादुर विश्वकर्मा । कक्षामा जहिल्यै प्रथम ! सायद साथीको पढाइको दु्रत गति र मेरो जुम्सो गति देखेर होला, मलाई एकाधपटक बुवाले भन्नुभएको याद छ– त्यो मानबहादुरजस्तो पढ्न सक्दैनस् ? मलाई अहिले लाग्छ, व्यवहारमा फेल भएपछि झुटा तर्कको सहारा लिनुपर्ने हुन्छ कि मौनता साँध्नुपर्छ । त्यसबेला मैले मौनताको बाटो रोजेको थिएँ । पछि साथी मानसिक रूपमा बिरामी हुनुभयो । सबैको सामूहिक प्रयत्नपछि उहाँ सामान्य अवस्थामा फर्किनुभयो । विद्यालयस्तरको पढाइपछि एकपटक काठमाडौँमा भेटघाट भए पनि त्यसपछि अर्को साइत जुरेको छैन ।

यो प्रसङ्ग कोट्याउन उक्काउनुपछाडिको कारण हो– हामी जुन जातमा जन्म्यौँ, निवेदन हालेर कार्यान्वयन भएको होइन । आ–आफ्ना कथाव्यथाका बाबजुद पनि अहिले मलाई जातका कारण राजधानी, समाज जति सहज र सरल भयो, भएको छ र हुनेछ, के उहाँलाई मैले प्राप्त गरेको त्यो शीतलता प्राप्त भयो, भएको छ र हुनेछ ? चिट्ठा प¥यो भने थाहा छैन, नत्र उहाँ परम्परा वा अन्य बहानाबाजीमा उच्च जात भनाउँदाले मच्चाउने संहारबाट कसरी जोगिन सक्थे र अब पनि कसरी जोगिनुहोला ? कति ठक्कर खानुभयो वा खानुपर्ने हो, उहाँलाई थाहा छ । सन्ततिहरूले पनि उही भुमरीभित्र गुम्सनुपर्नेछ । प्रकृतिमाथि मानिसको प्रहार भए पनि पृथ्वी घुमिरहेको छ, प्रकृतिको चक्र रोकिएको छैन तर थाहा छैन, किन मानवीयताको चक्र रोकिएको हो वा रोक्न खोजिएको हो ? मानबहादुरजस्ता अरू मेरा केही साथीहरूको थर अहिले पनि भूमिगत छ । कति थर सच्याउन बाध्य छन् । माथि उल्लिखित गीत समानताको विम्ब हो तर पनि अवस्था जस्तो हुनुपर्ने त्यस्तो छैन, जस्तो नहुनुपर्ने हो, त्यस्तो छ ।

मानिस जन्मजात समान, स्वतन्त्र र कानुनबाट संरक्षित भएको मानिन्छ । व्यक्ति, वर्ग, समूह वा समुदायबीच धर्म, वर्ण, लिङ्ग, जात, जाति, पेसा, सम्पत्ति, राष्ट्रियता वा कुनै पनि आधारमा असमान वा फरक व्यवहार गर्नु नै भेदभाव हो भने समान व्यवहार गर्नु नै समानता हो । न्यायाधीश क्लाइरे ल्हुरेक्स दुवेको शब्दमा समानता भनेको न्याय हो र न्याय भनेको समानता हो ।

धर्मका कुरा

धार्मिक, साँस्कतिक, जातीय वा सामाजिक आधारमा हुने विभेद घृणित, निन्दनीय कार्य हो, जसमा व्यक्ति वा समुदायलाई समाजभन्दा पृथक राख्ने र नीच व्यवहार वा हेय दृष्टिकोण र व्यवहार अवलम्बन गरिन्छ । जातविशेषका आधारमा उचनीचको व्यवहार गर्ने, आत्मसम्मान र मर्यादामा आँच पु¥याउनेखालका कार्य हुन्छ । धार्मिक, साँस्कृतिक जीवनमा सहभागी हुन नदिने, सार्वजनिक सेवा तथा प्रयोजनका वस्तुहरूको प्रयोग गर्ने वञ्चित गरिन्छ । यस्ता व्यवहार वा कार्यहरू सामाजिक रूपले गलत, नैतिक रूपले निन्दनीय र कानुनी रूपले गम्भीर सामाजिक अपराध हुन् । सभ्य समाजका लागि लज्जाको विषय हो । लोकतान्त्रिक प्रणालीप्रति गम्भीर प्रश्न पनि हो । कानुनी शासन, मानवअधिकारमाथि चुनौती पनि हो ।

समस्याको हाँगा, पात, छाम्ने, जरोमा नपुग्ने प्रवृत्ति घातक बनेर आएको छ । अज्ञान, अल्पज्ञान, स्वार्थमा आधारित ज्ञान, तर्क, बहस, छलफल, व्यवहार, आचरण समस्या बन्दै आएका छन् । सरोकारवालाहरूले यसतर्फ अझै पनि विवेकको बिर्को बन्द गरी राख्ने हो भने यस्ता नियतिहरू ओहोरदोहोर गरिरहनेछन् । घटनामा केन्द्रित भएर हामी प्रतिक्रियात्मक भइरहनेछौँ । धर्म र धर्मशास्त्रलाई हामी साफसँग गाली गर्छौ तर जरोमा जाँदैनौ । धर्मलाई कर्मकाण्डमा सीमित गरिएको छ । धर्मलाई पूजापाठ गर्नु, मन्त्र भट्याउनु, चन्दन, टीका लगाउनु, मन्दिर धाउनु, गेरुवस्त्र धारण गर्नु, जनै लगाउनु, आपराधिक कर्म गरे पनि धेर–थोर दान गरी पाप कटाउनुजस्ता अर्थमा अथ्र्याइएको छ । धर्म वा संस्कारका नाममा भट्याइने मन्त्रको अर्थ थोरैलाई मात्र थाहा हुन्छ । श्रवण गर्ने पनि सुन्नका लागि सुनिदिन्छ । अर्थ, सन्दर्भ, परिवेश के हो, ऊ प्रश्न गर्दैन । कहाँ, किन, कहिले, कसरी, कसको, कति आदि सवालको जवाफ खोजिँदैन । जिज्ञासु जमात पनि निराश बन्न पुग्छ । यसको अर्थ हो– धर्मलाई ठगीखाने भाँडोका रूपमा प्रयोग गरियो, गरिँदै छ र गरिने पनि छ । भित्री तहसम्म डुबुल्की मार्ने हो भने धर्म र दर्शनको अर्थ यसभन्दा बिल्कुल पृथक र व्यापक छ । धर्मलाई प्रचलन, परम्परा, न्याय, नैतिकता, कर्तव्य, चरित्र, आचरण मानिन्छ । मानिसले धारण गर्ने विचार, आचरण, जीवनशैली, दर्शन धारण गर्दछ, यही नै धर्म हो । हिन्दु सम्प्रदायमा प्राणी र ब्रह्माण्डको सम्बन्ध कायम, अधिकार, कर्तव्य, आचरण, व्यवहार, गुण, जीवन जिउने कला, नियम, कानुन आदि धर्म भनी बुझिन्छ ।

डा. युवराज सङ्ग्रौलाको भनाइमा ‘धर्म’ शिक्षित मानिसका बुझाइमा ‘राम्रा गुण, सिद्धान्त र ‘दार्शनिक मान्यताहरूको’ पुञ्ज हो । ‘धर्म’ एउटा गुणकारी संसारको सृष्टिमा सकारात्मक ज्ञानको प्रक्षेपण गर्ने माध्यम, संसारको सनातन अस्तित्वलाई अक्षुण्ण राख्ने प्राकृतिक नियमहरूको संश्लेषण र प्रकृति (पदार्थ) र ज्ञान (चेतना)को समायोजन र अन्तर्विरोध वा अन्तर्सम्बन्धबाट जन्मिने विज्ञानको ‘समष्टि’ हो वा संसारका सूक्ष्म र तटस्थहरूलाई बुझ्ने वा जान्ने दर्शनशास्त्र हो । ‘धर्म’ त्यसैकारण ‘धारण गर्न योग्य’ नियमहरूको सङ्ग्रह हो । धर्म आज हामीले बुझिरहेको ‘कर्मकाण्ड’ वा ‘संस्कार’ नियम वा पद्धति होइन । धर्मलाई शाश्वत प्राकृतिक गुणहरूबाट निःसृत नियमहरूको ‘पुञ्ज’, पदार्थ र ज्ञानको संयोजन र अन्तद्र्वन्द्वबाट निःसृत विज्ञानका सिद्धान्तहरू, ज्ञान र विज्ञानको औचित्यता पुष्टि गर्ने अन्तर्निहित ‘सारपूर्ण र गर्भित’ मान्यताहरू, जसलाई ‘दर्शन’ भनिन्छ र सबै ‘ज्ञान’ लाई समष्टिमा अभिव्यक्त गर्ने अन्तर्निहित अवधारणाका रूपमा ग्रहण गर्ने गरिन्छ । (फौजदारी न्याय प्रणाली नेपाली कानुनशास्त्र पूर्वीय कानुनी दर्शनका अकाट्य मान्यता र प्रभाव ः नेपाली फौजदारी न्याय प्रणालीको आधुनिकीकरणको सन्दर्भ, पृ.५)

के विभेदको अपजस धर्मशास्त्रले नै बोक्नुपर्ने हो ? यस्ता तर्क कति न्यायोचित हुन्छन् ? हिन्दुहरूको आदर्श ग्रन्थ वेद, उपनिषद्का केही प्रावधान हेरौँ : शास्त्रीय भनाइ नै छ– जन्मना जायते शुद्र कर्मण उच्चते । अर्थात् जन्मदा मानिस शुद्रको हैसियतमा जन्मछ, स्थान भने कर्मले निर्धारण गर्दछ । ऋग्वेदमा विराट पुरुषलाई ‘ब्रह्मा’को नाम दिई मुखबाट ब्रह्मा, पाखुराबाट क्षेत्री, पेट वा जाँघबाट वैश्य र खुट्टाबाट शुद्रको जन्म भएको भनी उल्लेख गरिएको छ । ब्राह्मर्णेस्य मुखमासीद्बाहु राजन्यः कृतः । उरु तदस्य यद्वैश्यः पद्भ्यां शुद्रो आजायत । (ऋगवेद १०÷९०÷१२) विडम्बना यसलाई पनि जातीय विभेदका रूपमा यदाकदा चर्चा गरिएको पाइन्छ । विम्बका रूपमा प्रयुक्त यस सूक्तमा पुरुष भनेको लोग्ने मानिस नभई, शक्तिको अर्थमा प्रयोग गरिएको हो । अयं निजः परो वेति गणना लघु चेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् । सङ्कुचित वा सानो चित्त भएकाहरू यो मेरो र यो तेरो हो भन्ने भावनाबाट ग्रसित हुन्छन् । उदार वा ठूलो हृदय भएकाहरूका लागि संसारमा सबै समान छन् । महोपनिषद्, (अध्याय ४, श्लोक ७१०) वर्णबारे भागवत गीतामा उल्लेख छ– चातुर्वण्र्यं मया सृष्ट गुणकर्म विभागशः । गुण र कर्मका आधारमा चार वर्णको सृष्टि भएको हो । बुद्धको मतअनुसार– यस्स पार अपार वा पारांपारं न विज्जति । वीतद्दरं विसंयुत्तंm–तमहं ब्रुमि ब्राह्मणं ।।३।।
जसको पार (आँखा, कान आदि छ इन्द्रिय) अपार (रूप, शब्द आदि छ विषय) र पारापार (म, मेरो) भन्ने छैन, जो भयरहित भएर अनाशक्त हुन्छ, उसैलाई म ब्राह्मण भन्दछु ।।३।। (भिक्षु अमृतानन्द (नेपाली अनुवाद), धम्मपद २०७०, आनन्दकुटी विहार संस्था, काठमाडौँ, पृ.१७२)

मनुस्मृतिको प्रसङ्ग

धर्तीमा गाली खाने शास्त्रमध्ये मनुस्मृति पनि एक हो भन्दा अन्यथा नहोला । विशेषतः महिला र दलित विरोधी स्मृतिका रूपमा चित्रण गर्ने गरिएको पाइन्छ । महिलालाई देवीको प्रतीक मान्ने मनुले के नारी र दलितप्रति यति निम्नकोटीका अपमानजनक वाणी प्रकट गरेकै हुन् ? मानाँै, मनुकै वाणी भए पनि के आजको असमानता, विभेद, अन्याय आदि तिनै सीमित भनाइका उपज हुन् ? यहाँ मनुस्मृतिको बचाउ गर्न खोजिएको होइन । समय कालखण्डमा उनका भनाइलाई विकृत र अपभ्रंश बनाउँदै ल्याइएको त होइन ? कतै बेलायती उपनिवेशवादको प्रहार त होइन ? यसमाथि पनि गम्भीर चिरफार गरौँ, जे छ त्यही निचोडबाट अगाडि बढौँ भन्ने हो ।

दक्षिण एसियाली लामो इतिहास, गौरवमय, आदर्श, समृद्ध परम्परा र संस्कृतिमाथि आगो सल्काउने काम बेलायती उपनिवेशबाट सन् १९२३ बाट सुरु भएको थियो । म्याकुलेको जेनरल कमिटी अफ पब्लिक एजुकेसन फन्ड नामक संयन्त्रमार्फत यी काम गराइएको थियो । भनिन्छ– त्यसताका कतिपय महŒवपूर्ण दस्तावेजहरू गायब गरियो । मनुस्मृति, चाणक्यको अर्थशास्त्र आदि ग्रन्थ हेरफेर गरियो । संस्कृत अव्याहारिक र फल अर्थात् रोजगारी नदिने शिक्षा हो भन्दै फल दिने शिक्षाका रूपमा अङ्गे्रजी छिराइयो, साथमा उतैको रहन, सहन, संस्कृति, विचारधारा पनि । यही धारा विक्रम संवत् २०१२ सालमा नेपालमा पनि छि¥यो र २०२८ मा नयाँ शिक्षाको नाममा लागू भयो, जुन हाम्रो चाहना थिएन, अरूकै थियो । यसतर्फ पनि घोत्लिन आवश्यक भइसकेको छ ।

जातीय विभेद पश्चिमी उपज
कतै जातीय विभेद पश्चिमी उपहार त होइन ? शिक्षा सुधारको नाममा मनुस्मृतिमा जातीय विभेद विषय वा प्रसङ्ग उल्लेख हुनु, प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायतमा वर्ष दिन बिताउनु, स्वदेश फर्केपछि मुलुकी ऐन–१९१० आउनु र त्यसमा जातीय विभेदले प्रशस्त स्थान पाउनु के संयोगमात्रै हो ? भलै नेपालमा चौधौँ शताब्दीतिर जयस्थिति मल्लले मानव न्यायशास्त्रबाट जातीय विभेदको विजारोपण गरी शुद्रलाई स्थायी रूपमै अछुत बनाइएको पाइन्छ । भारतका अध्येता विजय रामास्वामीका अनुसार, ‘विश्वकर्मा भनेका असल कालीगढ र डिजाइनरहरू हुन्, जो ब्रह्माका छोरा पनि हुन्, जसले रावणका लागि लङ्का, राधाकृष्णका लागि द्वारका, इन्द्रका लागि स्वर्गलगायत विश्वजगतको भौतिक निर्माण गरे । यसका अतिरिक्त उनले देवादानवहरूका हातहतियार तथा देवहरूका लागि उड्ने रथहरूको समेत निर्माण गरे । (सरोजदिलु विश्वकर्मा, सौर्य अनलाइन, २०७६ माघ २४)

राजकुमार दिक्पालका अनुसार– विश्वकर्मा (उही) अनुसार पृथ्वीनारायण शाहका कालमा उनलाई साथ सहयोग दिने श्रमिक तथा शिल्पी समुदायका अगुवाहरूमा बिसे नगर्ची र येखाजङ्गसँगै कालु सार्की, जसवीर कामी तथा मनिराम गाइनेको योगदान पनि महŒवपूर्ण रहेको छ । तीमध्ये कालुले सैनिकले लगाउने छालाको टोपी, तोपको दाप, खुँडा, खुकुरी, धनुकाँड सुरक्षित राख्ने झोला, बन्दुक बोक्ने पेटीजस्ता छालाका सामग्री बनाउँथे । यस्तै जङ्गल फाँडेर गोल बनाई फलामका खुँडा, खुकुरी, तरबार, कटारी, छुरी, भाला, धनुकाँडजस्ता हतियार बनाउने काम जसवीर कामीले गर्थे । मणिराम गाइनेले चाहिँ विभिन्न भागमा डुलेर गीत गाउँदै पृथ्वीनारायण शाहको पक्षमा सुराकी गर्थे ।
जङ्गबहादुर राणाको आदेश थियो ः कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि बिग्रन्छ ।

कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन् ।’ (असार ६, २०७७, हिमाल खबर)

सही अर्थ
संस्कृतमा ज्ञानलाई ब्रह्मा र युद्धलाई क्षेत्र भनिन्छ । अतः युद्ध लड्ने क्षेत्री हुन्छ । बलियो, दह्रो जाँघ हुने परिश्रम गर्छ, ऊ वैश्य हो भने सबैलाई सहयोग गर्ने व्यक्ति शुद्र हो । जन्मका आधारमा सबै समान हुन्छन्, कर्मका आधारमा उनीहरू हैसियत निर्धारण हुन्छ । ब्राह्मण खलकका द्रोणाचार्यका छोरा अस्वस्थामा युद्धकलामा पोख्त थिए, उनी क्षेत्री मानिए । क्षेत्री कुलका पर्शुराम शास्त्रमा पोख्त भएपछि ब्राह्मण हुन पुगे । शुद्रका छोरा चन्द्रगुप्त मौर्य योद्धा थिए, क्षेत्री भए । चाणक्यको भनाइ छ ः कोही व्यक्ति ब्राह्मण, क्षेत्री, वैश्य, शुद्रको गुण लिएर जन्मदैन । व्यक्ति जन्मेपछि उसले यी गुणहरू प्राप्त गर्दछ ।

अबको बाटो

बाहिर छुवाछूत, जातीय विभेद, असमानता ठीक हो, यसलाई पाल्नुपर्छ, हुर्काउनुपर्छ कोही भन्दैन तर हिंसाका बादलहरू मडारिन छोड्दैनन् । यसको सिधासिधी अर्थ हो ः समस्या हामीमै छ । हामी जे भन्छौँ, त्यो गर्दैनौँ, जे गर्छौं, त्यो भन्दैनौं । समस्या यही हो । ‘किन’ बाट कारण तथ्यमा रही सत्य खोतल्ने हो भने निष्कर्षमा पुग्न सहज हुन्छ । अपराधी ती शासक हुन्, जसले जनचाहनाभन्दा पनि आफ्नो इच्छा अनुकूल कानुन कोरे । विभेदलाई सत्तामा टाँसिने सूत्र बनाए । पछिल्लो चरणमा कानुनलाई कागजमै सीमित राखे, व्यवहारको कसीमा उतारेनन् । दोषी ती हुन्, जसले धर्मको आडमा धर्मशास्त्रको अपव्याख्या गरी जातीयताको खाडल खने र खनिरहेका छन् ।

अतः इतिहास जे थियो, त्यही रूपमा हेरिनुपर्छ, न कि अनुकूलता र प्रतिकूलतामा ! हिजो परिचय कर्मले निर्धारण गथ्र्यो । प्रायः थरहरू स्थान विशेष, पदविशेषमा आधारित थिए । बाजेबाबुको थर (पोखरेल, पौडेल, आचार्य, खरेल …आदि) आधारमा जन्मँदा ब्राह्मण, अनि शुद्र (दमाई, कामी, सार्की …आदि) हुनुपर्ने न कुनै नियम थियो । माथिल्लो र तल्लो भनिएको जातबीच मात्र होइन, दलित समुदायभित्र पनि मानिस बन्न धेरै बाँकी छन् । हिसाब–किताब सबैको हुनुपर्छ । अतः लडाइँ दलितको होइन, मानवताविरुद्धको हो । समानताको होइन, समानता पुनःस्थापनाको हो, जहाँ मानव चेतनाहरूको सामूहिक र सार्थक प्रयत्न आवश्यक छ । स्रोत -गोरखापत्र

(लेखक कानुन तथा मानवअधिकार क्षेत्रमा सम्बद्ध हुनुनुहन्छ ।)


प्रकाशित | २० असार २०७७, शनिबार १४:१२

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *