वेस्ट ह्यामसंग चेल्सीको हार

एजेन्सी : प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले हार ब्यहोरेको छ । सोमबार राति चेल्सीले वेस्ट ह्यामसंग ३–२ को हार ब्यहोेरेको हो । ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको हार टार्न सकेनन् । उनैले ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । माईकेल एन्टोनियोले ५१ औं मिनेटमा वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाउने काम गरे । पुन विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै चेल्सीलाई निराश बनाए ।

लण्डन क्लबबिरुद्ध जित निकाल्दै वेस्ट ह्यामले रेलिगेशनको दबाबबाट बाहिर निस्किएको संकेत गर्यो । चेल्सीको च्याम्पियन्स लिग छनोटको दौड थप प्रतिस्पर्धात्मक हुने देखियो । चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्त ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

यस्तै, शीर्ष चारको क्लब लेस्टर सिटीले एभर्टनसंग हार ब्यहोर्यो । एभर्टनको घरेलु मैदानमा लेस्टर २–१ ले पराजित बन्यो । घरेलु टोलीका रिचर्डसन र जी सिगर्डसनले लगातार गोल गर्दै एभर्टनलाई २–० को अग्रता दिलाएका थिए । लेस्टरका इहनाचोले ५१ औं मिनेटमा एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । लेस्टर ५५ अंक सहित तालिकाको तेस्रो र एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा वर्नेमाउथ घरेलु मैदानमा न्युक्यासल युनाईटेडसंग ४–१ ले पराजित बन्यो । न्युक्यासलका लागि ड्वाई गेल, सीन लान्गस्टाफ, मिगुएल अल्मिरान, भालेन्टिनो लजारोले गोल गरे । वर्नेमाउथका लागि दान गोसलिङ्गले एक गोल फर्काए ।

पछिल्लो नतिजासंगै वर्नेमाउथमाथि रेलिगेशन जोनको सम्भावना थप चुनौतीपूर्ण बन्यो । न्युक्यासलले आफुलाई रेलिगेशन जोनबाट बाहिर राख्ने कोशिश गर्यो । न्युक्यासल ४२ अंक सहित तालिकाको १३ औं स्थानमा छ । वर्नेमाउथ २७ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।


प्रकाशित | १८ असार २०७७, बिहीबार ०७:३७