काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको पाँचौ बैठक बालुवाटारमा शुरु भएर केही सदस्यले बोलेपछि भोलि ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो । बैठक बिहान ११ बजेदेखि बैठकको समय निर्धारण गरिएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला भएको थियो ।
आजको बैठकमा स्थायी सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, पेशल खतिवडा र एनके प्रसाईंले आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन खेल खेलिरहेको भनी दिएको अभिव्यक्तिबारे आ–आफ्नो धारणा राख्नुभएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अब नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुने बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्षहरूबीच छलफल भएपछि आवश्यकताअनुसार सचिवालयको बैठक पनि बस्ने र त्यहाँ छलफल भएर फेरि स्थायी बैठक सुचारु हुनेछ ।
पार्टीको बैठक कार्यसूचीमा नेताहरू बोल्ने क्रम जारी रहे पनि मङ्गलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो । पार्टीको आन्तरिक एकता प्रक्रिया र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै नेताहरूले बोल्ने क्रम जारी छ ।
प्रकाशित | १७ असार २०७७, बुधबार १३:५३