गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि भ्रमणमा

रुकुम :रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन । बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी फर्किइन् ।

लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहिक फोटो सेसन गर्दै मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचयपत्र यसपटक मुख्य पदाधिकारी र कर्मचारीको अभावमा वितरण हुन सकेन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा आठको नतिजा प्रकाशन पनि रोकिएको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लसहित १७ प्रतिनिधि र कर्मचारी कुनै औपचारिक निर्णयसमेत नगरी भ्रमणमा निस्किएको गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले बताउनुभयो । ‘भ्रमणका विषयमा सामान्य छलफल भए पनि निर्णय भएको मलाई थाहा छैन । ३० चैत र १ वैशाख बिदाको दिन भएकाले सोमबार कार्यालय हाजिर हुने भनेर उहाँहरू निस्किनुभएको हो,’ प्रवक्ता खड्काले भन्नुभयो । यो समाचार नयाँ पत्रिका दैनिकमा मनीष खड्काले लेख्नुभएको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १०:०२