बागमती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ ।
शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
गत साउन ८ गते स्थगित वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे प्रदेशसभाको बैठक बसेको छैन । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा देखापरेसँगै सरकार अप्ठेरोमा परेका बेला प्रदेशसभाको अधिवेशन सिफारिस गरिएको हो ।
केही दिनअघि नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराउनु भएको छ ।
बैठकले राप्ती नगरपालिका चितवनलाई लिजमा जमिन दिने, प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृत गर्ने र प्रदेश पर्यटन विकास सम्बन्धमा छलफल गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको जानकारी प्राप्त भएको छ ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १६:३२