मेलम्चीको पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाउने तयारी

काठमाडौँ : राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्चीको सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम चरणमा पुगेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेसँगै पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाइने तयारी भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले पूर्व निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सुरुङको परीक्षणकै लागि केही समय लाग्ने बताउनुभयो । सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न भने अझै केही समय लाग्नेछ ।

शाक्यका अनुसार पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिनेछ । पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिनेछ ।

सुरुङभित्र अहिले तीन मुख्य र अर्को एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।


प्रकाशित | १५ असार २०७७, सोमबार २०:१७