पोर्चुगल पठाइदिने प्रलोभनमा ४० लाख ठगी, २ जना पक्राउ

काठमाडौं – पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका -३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका-६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका २९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका २४ वर्षीय समिर कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु र मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारेका थिए । विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 


प्रकाशित | २१ पुष २०७८, बुधबार १९:२१