मदन भण्डारीका विचारलाई इमान सहित अनुशरण गरौंः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले विश्वमा कम्युनिष्ट आन्दोलन थप बलियो बनाउन सफल भएको बताउनुभएको छ । बालुवाटारमा मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकले पनि जनताको बहुदलीय जनवादलाई धरौटी मानेर मतदान गरेकाले त्यसलाई अस्वीकार गर्न नसकिने प्रष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकले पनि जनताको बहुदलीय जनवादलाई धरौटी मानेर मतदान गरेकाले त्यसलाइ अस्वीकार गर्न सकिदैन ।’ मदन भण्डारीका विचारलाई इमान सहित अनुशरण गर्न आग्रह गर्दै उहाँले भौतिक वादीले पाप र धर्ममा विश्वास नगर्ने तर भौतिकवादीले निष्ठा र सत्यमा रहनु पर्ने उल्लेख गर्दै कतिपय भौतिकवादी निष्ठा र सत्यबाट च्यूत भए पछि उनीहरुले जे सुकै गर्न पछि नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ ‘कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि । आफ्ना लागि होइन देशका लागि ।’

कतिपयले नयाँ नक्सा छापेपछि नेपाललाई झन् गाह्रो हुने बताए पनि त्यस्तो केही गाह्रो नहुने बताउनुभयो । ‘गाह्रो के हुन्छ जमिन गएको थियो। त्यो फिर्ता लिन खोज्दा गाह्रो भन्या के। एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न पाएनौं। ५८ वर्षदेखि खोसियो। हाम्रो जमिन हो। अरूको जमिन अतिक्रमण गरेको होइन कुनै गल्ती गरिएको छैन,’ उहाँले भन्नुभयो ।


प्रकाशित | १४ असार २०७७, आईतवार १५:०३