लयमा फर्कंदै औद्योगिक करिडोर

विराटनगर : तीन महिने बन्दाबन्दीपछि सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी–व्यवसायीले बताएका हुन् ।

‘पर्ख र हेर’को अवस्थामा उद्योग चलाएका छौँ, प्रिमियर स्टिल उद्योगका सञ्चालक एवं मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवन सारडाले पुनः बन्दाबन्दीको अवस्था झेल्नु परेन भने उही लयमा फर्कंदैछौँ तर त्यसका लागि बजारको चहलपहल र उत्पादन सामग्री माग बढ्नुपर्ने हुन्छ भन्नुभयो । उहाँले उत्पादन मात्रै गर्ने र माग नहुने अवस्था लामो अवधिसम्म रहे पुनः उत्पादन कटौती गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

करिडोरका शतप्रतिशत उद्योग सञ्चालनमा आए पनि उत्पादन भने ६५ प्रतिशत मात्रै छ । करिडोरमा साना, मझौला र ठूला गरी छ सय उद्योग सञ्चालनमा छन् । यी उद्योगमा काम गर्दै आएका ३० हजार नेपाली मजदुर काममा फर्किसकेको दाबी उद्योगीहरूले गरेका हुन् ।

स्थानीय कामदारलाई काममा फर्काएका छौँ, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले कुनै–कुनै उद्योगमा रहेकामध्ये चार मेसिनमध्ये दुईवटा मात्रै चलेका छन् भन्नुभयो । उद्योगीहरूले सिफ्ट घटाउने र दैनिक ज्यालादारीका मजदुरलाई आलोपालो प्रणालीमा काम लगाउने गरेको महासचिव साहले जानकारी दिनुभयो ।

बाग्मती वयल इन्डस्ट्रिज प्रालिका सञ्चालक एवं उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष नन्दु राठीले खाद्यान्न उत्पादन गर्ने उद्योग बन्दाबन्दीभर नै सञ्चालन रहेकोले समस्या नभएको बताउनुभयो । उहाँले दैनिक आवश्यकता परिपूर्ति गर्ने किसिमका सामान उत्पादन हुने उद्योगलाई समस्या नभए पनि त्यसबाहेकका उद्योगका उत्पादन वृद्धि गर्न बजारमा निर्भर रहनुपर्ने बताउनुभयो ।

बजार कसरी चलायमान हुन्छ, उद्योग त्यही गतिमा चल्छ, राठीले दशैँसम्ममा पूर्ण रूपमा पूर्ववत् अवस्थामा फर्कन्छौँ तर यसपछि कोरोना सङ्क्रमणको जोखिम कस्तो स्वरूपमा फैलन्छ भन्नुभयो ।
सुनसरी–मोरङ करिडोरका उद्योगमा कार्यरत कामदार तथा मजदुरमध्ये पाँच प्रतिशत भारतीय छन् । उद्योगमा प्राविधिक र लेखा प्रणाली हेर्ने भारतीय दक्ष कामदारलाई समेत फर्केर आइसकेका छन् ।

प्राविधिक रूपमा मेसिनको मुख्य अपरेट नै भारतीय छन् भने उनीहरूलाई बोलाएर ल्याउनुपर्ने बाध्यता उद्योगीलाई छ, कोषाध्यक्ष राठीले सुरक्षित भिœयाउने, स्वास्थ्य परीक्षण गर्ने र सुरक्षित तवरले काममा खटाउने कुरालाई हामीले थप जिम्मेवारी ठानेका छौँ भन्नुभयो । यसरी बोलाइएका प्राविधिक जनशक्तिलाई उद्योगहरूले विशेष स्वास्थ्य बन्दोबस्तीसहित परिचालन गरेका हुन् । उद्योग परिसरमा अनिवार्य तापक्रम परीक्षण गर्ने, मास्क तथा पन्जाको उपलब्धता, हातधुने साबुनपानीको सुविधा, सेनिटाइजरको प्रबन्ध मिलाइएको उद्योगीले बताएका छन् । जोखिम सबैलाई उत्तिकै रहेकोले मजदुरको सुरक्षासँगै अनावश्यक भीड र कुराकानीका लागि उद्योग प्रशासनले रोक लगाएको छ ।

ट्रेड युनियन महासङ्घ प्रदेश १ का जिफन्टका अध्यक्ष किशोर धमलाले उद्योगहरू खुल्न थालेकोले मजदुरहरू काममा फर्केको बताउनुभयो । चैतमा मजदुरलाई दिनुपर्ने पारिश्रमिक ९० प्रतिशत उद्योगले दिएनन् । स्थायी कामदारलाई उद्योगहरूले दिए पनि दैनिक ज्यालादारीले पाएनन् । त्यसपछिका महिनामा उद्योगीले बन्दाबन्दी अवधिको आधा रकम दिएका छैनन् ।

समग्र उद्योग ट्रेड युनियन नेपाल प्रदेश १ का अध्यक्ष मनोज मगरले उद्योगीहरूले मजदुरको स्वास्थ्य सुरक्षामा सन्तोषजनक व्यवस्थापन मिलाएको बताउनुभयो । उहाँले उद्योगभित्रै सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले मजदुरलाई सिफ्ट विभाजन गरेर काम गरिरहेको बताउनुभयो तर बन्दाबन्दी अवधिको पारिश्रमिकलाई पेस्कीस्वरूप निकासा गरिएकोले मजदुरहरू अन्योलमा रहेको उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनीकमा खवर छ


प्रकाशित | १४ असार २०७७, आईतवार ०८:०२