मन्त्री पार्वत गुरुङको पहलमा दोलखाकी एक गर्भवतीको हवाई उद्धार

काठमाडौं : गम्भिर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरि उपचारका लागि काठमाडौं ल्याइएको छ । अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार (हिजो) भर्ना भएकी गौंरीशंकर गाउँपालिका–४ झ्याकुकी ७ महिनाकी गर्भवती पासाङठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरि शनिबार दिउँसो काठमाडौं ल्याइएको हो । अहिले उनको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा उपचार भईरहेको छ ।

६ दिनदेखि रक्तश्राव भएकी उनीलाई थप उपचारका लागि काठमाडौं रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिनु भयो । अस्पतालका अनुसार उनीको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो ।

अस्पतालले काठमाडौं लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराउनु भएको थियो ।

त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्नु भएको थियो । मन्त्रालय अन्तरगतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

लकडाउनको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीहरुको निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले बताउनु भयो ।


प्रकाशित | १३ असार २०७७, शनिबार १७:५२