रोनाल्डोको गोल, युभेन्ट्सलाई ७ अंकको अग्रता

एजेन्सी : सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जित आत्मसाथ गरेको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे ।

जितसंगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । ६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ७ अंकको अग्रता बनाएको हो । लिसी २५ अंक सहित रेलिगेशन जोनमा छ ।

५३ औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले ८३ औं मिनेटमा युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

रोनाल्डोकै पेनाल्टी गोलमा युभेन्ट्सले सोमबार बोलाग्नामाथि २–० को जित निकालेको थियो । रोनाल्डोले यस सिजनको लिगको २४ खेलमा २३ गोल गरेका छन् ।

पछिल्लो जितसंगै युभेन्ट्स लिग उपाधि होडमा अगाडी बढेको छ । शनिबार राति लाजियोले फ्लोरेन्टिनाबिरुद्ध जित निकालेको खण्डमा समेत युभेन्ट्सलाई ४ अंकको स्पष्ट अग्रता प्राप्त हुनेछ ।


प्रकाशित | १३ असार २०७७, शनिबार ०८:१४