भक्तपुर: मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । विद्यालयको वार्षिकोत्सव नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको बताउनुभयो । भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले नगरपालिका शैक्षिक गन्तव्यको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।
कार्यक्रममा नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपाने, सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक, प्रवक्ता र वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलको विविध प्रतिभा प्रस्तुति र कार्यक्रमबाट सबैले सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेत, नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याव्सनका केन्द्रीय सदस्य तथा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा.कृष्ण प्रसाद ग्वाछा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तबुन्जा श्रेष्ठ, हिसान भक्तपुर अध्यक्ष अनिल कस्पाल, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृष्ण प्रजापति, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताउनुभयो ।
कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई मायाको चिनो दिइएको र युकेजीबाट अपग्रेड भई कक्षा १ मा पुग्न सफल विद्यार्थीहरु दिक्षित गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा १० वर्ष भन्दा लामो समय सेवा प्रदान गर्दै आएका शिक्षक तथा कर्मचारीहरु राधेश्याम केसी, राधेश्याम कासुला, सविना केसी, दिलदेवी देउला, रुपा थापा र माया केसीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, गीत तथा नाटकका साथै विद्यार्थीहरुले उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।
प्रकाशित | २९ चैत्र २०७९, बुधबार २१:०२