देशभर मनसुन सक्रिय, नदीको बहाव बढ्दै, सावधानी अपनाउन अपिल

काठमाडौँ : मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढिरहेको भन्दै सावधानीको लागि सबैमा अपिल गरिएको छ । विज्ञहरुले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको र नदीको बहाव बढने भन्दै सावधानी अपनाउन आग्रह गरेका हुन ।

नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्दछ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । देशै भर मनसुनको प्रभावका कारण मौसमी गतिविधि बढेकाले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्नसमेत मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज र भोलि प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा हुनेछ । तर पानीको सतह सतर्कता तहभन्दा तलै रहने छ । बिहीबारबाट भने कन्काई, कोशी, कमला, बागमती लगायत प्रदेश १ र २ भई बहने नदीमा बढी बहाव हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | ९ असार २०७७, मंगलवार १४:२२