लुम्बिनीका होटलमा २० अर्बको नोक्सानी

भैरहवा : कोभिड–१९ को प्रकोपका कारण पर्यटकको आवागमन शून्य भएपछि लुम्बिनी क्षेत्रका होटलले समग्रमा २० अर्बको नोक्सानी बेहोरेका छन् । बन्दाबन्दीका कारण पाहुनाको आवागमन शून्य भएपछि प्रत्येक होटलले १५ करोडदेखि ४० करोड रुपियाँसम्म आम्दानी गुमाएको जनाइएको छ ।

व्यवसायीले पर्यटन क्षेत्र तहसनहस भएकाले राहतका लागि सरकारले उपयुक्त योजना ल्याउनुपर्ने पनि बताएका छन् । सरकारले अब होटल व्यवसायीका लागि राहतको घोषणा गर्नुपर्छ, बैङ्कको किस्ता तिर्ने समय पछाडि सार्नुपर्छ र ब्याज मिनाहा गर्नुपर्छ, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो ।

खासगरी लुम्बिनी क्षेत्रका होटल तथा रिसोर्टका ग्राहक पर्यटक हुन् । कोरोनाका कारण आन्तरिक र बाह्य पर्यटकको आवागमन ठप्प भएको र होटल व्यवसाय पनि बन्द भएकाले व्यवसायीहरूले समग्रमा २० अर्ब रुपियाँको नोक्सानी बेहोरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । लुम्बिनी होटल सङ्घका अनुसार लुम्बिनीमा सानाठूला गरी ८५ वटा होटल छन् । तिनमा सात अर्ब रुपियाँभन्दा बढी लगानी छ । यी सबै होटल अहिले बन्द छन् । अन्यत्रजस्तै लुम्बिनी क्षेत्रका होटलमा पनि बैङ्कहरूले कर्जा लगानी गरेका छन् ।

“धेरैजसो होटल बैङ्कबाट ऋण लिएर खोलिएका छन्, कारोबार नै नभएपछि बैङ्कको किस्ता कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ,” सङ्घका महासचिव हीरामणि शर्माले भन्नुभयो । होटलको अकुपेन्सी रेट शून्य अवस्थामा हुँदा पनि अहिलेसम्म होटल क्षेत्रका लागि सरकारले कुनै खालको राहतको प्याकेज नल्याएको व्यवसायीको गुनासो छ । उनीहरूले यो सङ्कटले आगामी दुई–तीन वर्षसम्म असर पर्नसक्ने बताएका छन् । कोरोना महामारीको प्रत्यक्ष मारमा होटलमा कार्यरत मजदुर कर्मचारी परेका छन् ।

अधिकांश होटलले बन्दाबन्दी भएदेखि नै कर्मचारीलाई बेतलबी बिदा दिएर घर पठाएका छन् । अब तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रत्येक होटलमा कम्तीमा पाँच जनादेखि ५० जनासम्म मजदुर कर्मचारी कार्यरत रहेको र उनीहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको लुम्बिनी होटल सङ्घले जनाएको छ । सङ्घका अनुसार बेतलबी बिदामा कर्मचारीलाई घर नपठाएका होटलले कर्मचारीको तलबमा कटौती गरी आधा तलब दिएका छन् ।

लुम्बिनी होटल सङ्घका अनुसार लुम्बिनीमा रहेका ८५ वटा होटलमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिब पाँच हजार कर्मचारी कार्यरत छन् । कोरोना भाइरसको महामारीको प्रकोप लामो समयसम्म कायम रहे होटलको लगानी जोखिममा पर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | ९ असार २०७७, मंगलवार ०७:५२