विश्वभर एकै दिन थपिए हालसम्मकै सबैभन्दा बढी संक्रमित

एजेन्सी– विश्वभर एकै दिन १ लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभर गत २४ घण्टामा १ लाख ८३ हजार २० नयाँ संक्रमित थपिएका हुन्।

यो कोरोना संक्रमण सुरु भएयताकै सबैभन्दा धेरै हो। थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै उत्तर तथा दक्षिण अमेरिकाका छन्। यी महादेशमा १ लाख १६ हजार नयाँ संक्रमित थपिएको अल जजिराले जनाएको छ।

अमेरिकापछि विश्वकै दोस्रो ‘हटस्पट’ ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्ममा ५० हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख ८५ हजार ३८ पुगेको छ।

मेक्सिकोमा पनि संक्रमण तीव्र रुपमा फैलन थालेको छ। त्यहाँ ५ हजार ३ सय ४३ नयाँ संक्रमित देखिएका छन् भने एकै दिन १ हजार ४४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा हालसम्म १ लाख ८० हजार ५ सय ४५ संक्रमित पुगेका छन्। त्यहाँ २१ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ८९ लाख २८ हजार ६ सय ५२ छ। कुल संक्रमितमध्ये ४ लाख ६७ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ भने ४४ लाख १९ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन्।


प्रकाशित | ८ असार २०७७, सोमबार १२:५३