चाँगुनारायणले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषय समावेश गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषयलाई समावेश गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषयलाई समावेश गर्ने उल्लेख गर्नु भएको हो ।

नगरपालिकालाई विपद् जोखिमबाट सुरक्षित, अनुकूलित तथा उत्थानशील नगरपालिकाको रुपमा स्थापीत गर्ने, भूःक्षय, पहिरोको जोखिम क्षेत्रहरुको दिर्घकालीन समाधान एवं संरक्षणको लागि प्राकृतिक प्रविधि, बायो इृन्जिनियरिङ विधि अवलम्बन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनको लागि आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिबृद्धि गर्ने नीति लिएको छ ।

त्यस्तै, विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा ब्यापक जनसहभागिताको लागि महिला समूह, युवा समूह, टोल विकास संस्था परिचालन गर्न गराउन आवश्यक कार्यक्रम लागू गर्ने, हरेक वडामा सुरक्षित आश्रयस्थल निर्माणका साथै अत्यावश्यक सामाग्रीसहितको सूचना केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तैगरि, खोज तथा उद्धार र प्राथमिक सामाग्रीसहित एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली गठन गरी कार्यान्वयनमा ल्याइने र विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने नीति लिएको छ ।


प्रकाशित | २९ असार २०८०, शुक्रबार २१:०१