विदेशमा अलपत्र नेपालीको उद्धार कार्य जारी, अहिलेसम्म कुन देशबाट कतिको उद्धार ?

काठमाडौँ : सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार कार्य जारी राखेको छ । कोभिड १९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार कार्य जारी राखिएको हो । सरकारले उडान तालिका अनुसार विभिन्न देशबाट उद्धार कार्य जारी राखेको जनाएको छ ।

आइतबार सम्मको तथ्यांक अनुसार अहिलेसम्म विभिन्न देशबाट चार हजार २१७ नेपालीलाई स्वदेश फर्काइएको छ । कोरोना सङ्कट व्यवस्थापन समितिका अनुसार गएको जेठ २३ गतेदेखि असार ७ गतेसम्म विभिन्न १२ देशबाट भएका ३२ उडानमार्फत चार हजार २१७ जनाको उद्धार गरिएको हो ।

हालसम्म कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, मालदिभ्स, दक्षिण कोरिया, बङ्गलादेश, ओमान, थाइल्यान्ड, सिङ्गापुर, जापान, श्रीलङ्काबाट स्वदेश फर्काइएको छ । सरकाले कोरोनाका कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने सूची सार्वजनिक गरिसकेको छ ।

आइतबार मात्र विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड उडानमार्फत आइतबार स्वदेश आइपुगेका हुन् । कतारको दोहा, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबाट गरेर ७१२ नेपाली नागरिक स्वदेश आइपुगेका हुन् ।

साउदी अरब र कतारबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान र यूएईबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानले स्वदेश फर्काइएको हो । कुवेतबाट कुवेत सरकारले नै व्यवस्था गरेको जजिरा एयरलाइन्समार्फत नेपाली नागरिक स्वदेश आइपुगेका हुन् । कतारबाट १४९, कुवेतबाट १६६, यूएईबाट १५१ र साउदी अरबबाट २४७ जना स्वदेश फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार विगत छ महिनादेखि नेपाली दूतावासको सेल्टरमा रहेका चार महिलासहित १२ महिला पनि स्वदेश फर्किएका हुन । गत बिहीबार भएको पहिलो चार्टर्ड उडानबाट १५३ नेपाली स्वदेश फर्केका थिए । साउदीबाट तत्काल दुई हजार ५०० नेपालीलाई स्वदेश फर्काउनुपर्ने सूची बनेको दूतावासले जनाएको छ ।

त्यस्तैगरि, कोरियाबाट शनिबार नियमित अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्धका कारण समस्यामा परेका २२८ नेपालीलाई फीर्ता गराइएको छ । बिदामा आएका २३३ नेपाली श्रमिकलाई फर्काइएको हो । यो उडानको संयोजन एनआरएन दक्षिण कोरियाले गरेको जनाइएको छ । कोरियामा कोरोनाका कारण समस्यामा परेर तत्काल स्वदेश ल्याउनुपर्नेको सङ्ख्या ९७२ रहेको दूतावासले जनाएको छ ।

उता यूएईमा कोरोनाका कारण समस्यामा परेका १५१ जना नेपाली तेस्रो उडानमार्फत स्वदेश आइपुगेका छन् । हिमालय एयरलाइन्समार्फत फर्कनेमा २५ महिला र १२६ पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । यूएईबाट तीनवटा उडानमार्फत ४८८ जना स्वदेश फर्किसकेका छन् । यूएईबाट शनिबार एयर अरबियामार्फत १६८ र यसअघि पनि यूएईबाट १६९ नेपाली स्वदेश फर्किसकेका छन् ।

कतारबाट आइतबारसम्म २० शवसहित १९२ फर्किएका छन् । कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्समार्फत १४९ जना नेपाली स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ । जसमध्ये तीन नाबालक, २९ सुत्केरी गर्भवतीसहित ८२ महिला र ६४ पुरुष रहेको दूतावासले जनाएको छ । अर्को उडान सोमबार र बुधबार हिमालय एयरलाइन्समार्फत हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा पहिलो चरणमा नेपाल फर्किनैपर्ने नेपालीको सङ्ख्या पाँच हजार ११२ जना छन् । यसअघि आममाफी पाएका ४३ जना र २० वटा शव कतार सरकारले नेपाल पठाइसकेको छ ।

त्यस्तै, कुवेतमा आममाफीमा पाएका नेपाली स्वदेश फर्काइएको छ । भिसाको अवधि सकिएर नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा लागेको जरिवाना माफ गर्दै कुवेतले आममाफीको अवसर दिएर निःशुल्क काठमाडौँसम्म ल्याइदिएको हो । आममाफी सहभागी भएका दुई हजार ९९१ छन् । आममाफीमा सहभागीमध्ये सातवटा उडानमार्फत एक हजार ६४ नेपाली स्वदेश फर्काईसकिएको हो । पहिलो प्राथमिकतामा परेका बाँकि नेपालीको पनि उडान तालिका अनुसार उद्धार कार्य जारी राखिने जनाइएको छ ।


प्रकाशित | ८ असार २०७७, सोमबार ०८:५०