कोरोना महामारी बारे एनआरएनए इटाली अध्यक्ष देव राज गुरुङको सन्देश

देव राज गुरुङ, अध्यक्ष -एनआरएनए इटाली

यूरोपमा सबैभन्दा धेरै कोरोना महामारीको रुपमा फैलिएको इटालीमा करिव १५ सय नेपालीको बसोबास रहेको पाइन्छ । विशेष गरि अधिकाश नेपालीहरु होटल, रेष्टुरेन्टमा कार्यरत हुनुहुन्छ । कोरोनाको कारण झन्डै ६ हप्तादेखि इटाली लकडाउनमा छ । सरकारले कोरोना महामारी फैलिएसँगै लकडाउन गरिरहेको छ । अहिले पनि यो लकडाउन जारी छ । लकडाउनले अबको दिनमा कस्तो स्वस्प लिन्छ भन्ने कुरामा नेपालीहरुको पनि अवस्था निर्धारण हुनेछ । कोरोना महामारीले हजारौ हजारको ज्यान गइरहँदा त्यसले कोरोना नियन्त्रणमा आएपछि कस्तो प्रभाव पर्ला भन्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

अहिलेको लागि लकडाउनमा ज्यान जोगाउने र खानाको समस्या आउन नदिनु ठूलो सफलता होला । तर कोरोनाले तहसनहस भइरहँदा मुख्य आम्दानीको स्रोत पर्यटक भइरहेको देशमा पर्यटक आउँलान कि नआउँलान ? पर्यटक नआउँदा फेरि होटल, रेष्टुरेन्ट चल्लान कि नचल्ला अर्थात कस्तो अवस्था आउँला भन्ने विषयमा सहजै अनुमान गर्न सकिन्छ । किनकी पर्यटक आए भने मात्र होटल, रेष्टुरेन्ट चल्ने हो । होटल, रेष्टुरेन्ट चले मात्र सबैले रोजगारी पाउँने हो ।  भोलीका दिनमा धेरै नेपालीले रोजगारी गुमाउन सक्ने अवस्था पनि आउँन सक्ने देखिन्छ । त्यस अवस्थामा धेरै नेपालीलाई यहाँ बस्न, टिक्न कठिन हुनेछ । त्यस अवस्थामा स्वदेश फीर्ताको एउटै विकल्प हुनसक्छ । हामीले यस विषयमा एनआरएनए आइसिसी र नेपाल सरकारका उच्च पदाधिकारीलाई जानकारी गराइसकेका छौ ।

भोलीका दिनमा कोरोना नियन्त्रणमा आएर पनि रोजगारी गुमाएका नेपालीहरु स्वदेश फीर्ता हुन चाहेमा नेपाल सरकारले फ्रि टिकटको ब्यवस्था गरेर लग्नुपर्ने अवस्थातर्फ पनि सचेत गराइसकेका छौ । हामीले यहाँ रहनु भएको ५० प्रतिशत नेपालीहरुले रोजगारी गुमाउनसक्ने अनुमान गरेका छौ । ब्यवसायको रुपमा काम गरिरहनु भएको ब्यक्तीलाई सरकारले सक्दो सहुलियत सुविधा प्रदान गरिरहेको छ । तर पछिका दिनमा नेपाली ब्यवसायी पनि ब्यवसाय चलाउन नसक्ने अवस्था आँउला कि भन्ने चिन्ता छ ।

इटालीमा रहनुहुने नेपालीलाई कसैलाई पनि खाना, स्वास्थ्य उपचारलगायतको समस्या आउँन नदिन एनआरएनए र महावाणिज्यदूतावासबाट सक्दो सहयोग गरिरहेका छौ । अहिलेसम्म कसैलाई पनि खानाको समस्या छैन । यदी त्यस्तो समस्या भए सम्पर्क गर्न सबैमा अपिल समेत गरिरहेका छौ । अहिलेको लागि इटालीमा सबै नेपाली सुरक्षीत छौ । यहाँ बसोबास गर्नुहुने नेपालीहरु कसैलाई पनि कुनै समस्या पर्न नदिनको लागि हामीले एक समिति समेत बनाएका छौ जुन समितिले समस्यामा पर्नुभएको नेपालीको लागि सहजीकरण् गर्दै आवश्यक सहयोग गर्दै आएका छौ । इटालीमा हामीले सम्पर्कमा आउनुहुने र समस्यामा पर्नुभएको सबैलाई सहयोग गरिरहेका छौ ।

त्यस्तै, इटालीबाट नेपाल फर्कन चाहानुहुने नेपालीको लागि नेपाल सरकारले यहाँको सरकारसँग उचीत वार्ता गर्न माग गर्न चाहान्छु । नेपाल सरकारले तत्काल इटाली सरकारसँग वार्ता गर्दै स्वदेश फीर्ता हुन चाहानेको लागि आवश्यक ब्यवस्था गरोस भन्न चाहान्छु ।

यहाँको विषयमा भन्नुपर्दा हेलचेक्राई गर्नाले नै कोरोना फैलिएको हो भन्नेमा कसैको दुइमत छैन । मानीसहरुले लापरवाही र हेलचेक्राई गर्दा कोरोना महामारीको रुपमा फैलियो र आज इटालीको अर्थतन्त्रमाथि नै ठूलो नोक्सानी भइरहेको छ । यो अवस्था नेपालमा भने कदापी आउँन दिनु हुन्न । कम्तिमा इटालीबाट पाठ सिक्दै मुलुकलाई जोगाउने हो भने अहिलेको लागि घरभित्रै सुरक्षीत बस्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले देश विदेश सबैतीर रहनुहुने नेपाली समुदायमा के भन्न चाहान्छु भने इटालीको जस्तो अवस्था आउँन नदिऔं । कम्तिमा हामी जहाँ छौ त्यही बसौ आफू पनि सुरक्षीत होऔ र अरुलाई पनि सुरक्षीत राख्न सहयोग गरौ । भोलीको दिनमा ज्यान रहे सबैथोक गर्न सकिन्छ भन्ने उच्चो मनोबल बनाउन सबैमा अनुरोध गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १० बैशाख २०७७, बुधबार १८:२३