सरकारका तीनै तह कोरोना नियन्त्रणमा सक्रिय छन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहको सरकारले कोरोना रोकथाममा निकै सक्रियतापूर्वक काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आलोचना मात्र नभई सरकारका राम्रा कामको पनि प्रशंसा गर्न सांसदहरु आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।’

जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको बताउँदै प्रधानमन्त्री ओलीले आफूमात्रै ठिक अरु सबै भष्ट्र भन्ने मानसिकता त्याग्न पनि आग्रह गर्नुभयो ।

देशलाई परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएको बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशोधन पारित गरेकोमा प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिनुभयो ।

उहाँले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताउँदै प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गर्नुभयो ।


प्रकाशित | ४ असार २०७७, बिहीबार १६:२१