वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह विजयी

वीरगञ्ज: वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी हुनु भएको छ । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गर्नुभयो । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।


प्रकाशित | १० जेष्ठ २०७९, मंगलवार ११:०८