कालीकोटका २९ कोरोना सङ्क्रमित मध्ये चार महिने बालकसहित २५ जना डिस्चार्ज

प्रेमराज सिम्खडा /कालीकोट

कालीकोटका २९ कोरोना सङ्क्रमित मध्ये २५ जनालाई आज डिस्चार्ज गरिएको छ । जेठ १८ गते एकै साथ तिलागुफा नगरपालिका वडा नं ६ जुबिथास्थित सत्यदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा कोरोना पोजेटिभ देखिएका १९ मध्येका १६ जना र पन्चदेव माध्यमिक विद्यालय मान्मको क्वारेन्टिनमा पोजेटिभ देखिएका १० जना मध्य नौजना गरी २५ जनाको दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आजै घर पठाइएको हो ।

जुबिथा क्वारेन्टिनबाट तीन जना र पन्चदेव माबिका एकजना गरी चारजनाको दोस्रो पटक पनि रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो । तीन पटक सम्मको आरडिटी परीक्षण र दोस्रो पटकसम्मको पिसिआर परीक्षणमा चारमहिने वालक सहित २५ जनाले कोरोना युद्ध जितेपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

कोरोनामुक्त हुनेमा सान्नीत्रिवेणीका गाउँपालिका वडा नं २ का चारमहिने वालक समेत रहेका छन् । वालक, उनका बुवा र आमा एकै साथ घर गएका छन् ।

कोरोना निको भएर घर जानेमा शुभकालिका गाउँपालिकाभित्रका १२ जना महावै गाउँपालिका भित्रका आठजना, खाँडाचक्र नगरपालिकाका दुईजना, पलाँता गाउँपालिका एकजना, तिलागुफा नगरपालिकाका एकजना र बाजुरा जिल्लाका एकजना गरी जम्मा २५ जना रहेका छन् । बाँकी चार जनालाई थप सुरक्षाका साथ राखिएको छ । स्रोत गोरखापत्र अनलाइन


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार २०:००