उपत्यका प्रवेशमा थप कडाइ, स्थानीय तहको अनुमति अनीवार्य

काठमाडौँ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यका प्रवेश र उपत्यका बाहिर जानको लागि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आइतवार विज्ञप्ति जारी गरी उपत्यका प्रवेशमा थप कडाई गरिएको जनाएको हो । असार १ गते सोमबारबाट उपत्यकामा भने जोर–बिजोर सवारी लागू भएको छ ।

उपत्यका प्रवेश पाउनका लागि काठमाडौँको कुन नगरपालिकामा बसोवास हो सो सम्वन्धी औचित्य खुलाई सम्वन्धित जिल्ला प्रशासन कार्यालबाट प्राप्त सवारी पास वाहकलाई प्रवेश अनुमति दिने जनाएको छ । जसको लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ ।

2020-06-14-16477

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति पत्रसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ ।

काठमाडौँबाट बाहिर जान अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार १९:५०