पर्वत पहिरो अपडेट : आठ जनाको शव भेटियो, एक बेपत्ता

कुस्मा : पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ । पुरिएकामध्ये एक जना भने अझै बेपत्ता छन् । शनिबार राति गएको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो ।

प्रहरीका अनुसार पहिरोमा पुरिएका तुलबहादुर थापा, नीलकुमारी थापा, दीपा थापा, विविशा थापा, विवेक थापा, सम्राट थापा, कमला विक, प्रमिसा विकको शव भेटिएको र बेपत्ता भनिएका कमला विकका छोरा जेनिस विकको खोजी भइरहेको छ । स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा नौ जना बेपत्ता भएका थिए ।

कुश्मा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले थप एकको खोजी कार्य जारी राखिएको जानकारी गराउनुभयो । वडाध्यक्ष पाध्याका अनुसार नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धार कार्य जारी राखेका हुन् । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार १५:००