युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ?

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

इटालीले २ खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।

टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।


प्रकाशित | ६ असार २०७८, आईतवार ०८:०१