संविधान संशोधनमा समाजवादी पार्टी एक ढिक्का छः उपेन्द्र यादव

काठमाडौँ : जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रतिनिधिसभामा प्रस्तुत संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी एक ढिक्का रहेको बताउनुभएको छ । आफ्नो पार्टीले सर्वसम्मत भएर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले राष्ट्रियताको सवालमा आफ्नो पार्टी एक ढिक्का हुने बताउनुभयो ।

सदनमा प्रस्तुत संविधानको दोस्रो संशोधनको छलफलको क्रममा समाजवादी पार्टीका नेता यादवले आफ्नो पार्टी एक ढिक्का भएर सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

नेता यादवले राष्ट्रवाद नागरिकको भावनामा निहित हुने बताउनुभयो । उहाँले राष्ट्रियता मजबुत बनाउन सरकारले जनताको भावना बमोजिम राष्ट्रप्रति अपनत्व बढाउने कार्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले भाषा, व्यवहार, संविधान र सेनाले राष्ट्रिय एकता बनाउन नसकिने तर्क गर्नुभयो । नेता उपेन्द्र यादबले मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिमसँग राज्यको व्यवहार अझै यथोचित नरहेको बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको पृष्ठभूमिबारे बोल्नुहुँदै उहाँले विगतमा भएको महाकाली सम्झौतामा त्रुटि भएको स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले सन् १९५४ देखि हालसम्म भारत र चीनबीच छ पटक लिपुलेक भएर व्यापारिक मार्ग बनाउने वार्ता र सहमति भइरहँदा तात्कालीन सरकार मूकदर्शक भएर बस्नु चिन्ताजनक रहेको बताउनुभयो ।


प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १५:५२