युभेन्ट्सलाई लगातार नवौं पटक लिग उपाधि

एजेन्सी : युभेन्ट्सले सिरि ए फुटबलको उपाधि उचालेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । ६७ औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । तर रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे । युभेन्ट्सलाई लिग उपाधि जित्न तीन अंक आवश्यक थियो । तर पछिल्ला ५ खेलमा युभेन्ट्सले मात्र एक खेलमा जित निकाल्न सफल रह्यो ।

अबरुद्ध लिग पुन सुरु भएपछि रोनाल्डोले युभेन्ट्सका लागि १० गोल गर्न सफल रहे । अन्तिम मिनेटमा पेनाल्टी खेर फालेका रोनाल्डोले क्लबको कीर्तिमान बराबरी गर्न असफल रहे ।

मौरिजियो सर्री नेतृत्वको युभेन्ट्सले दुई खेल अगावै लिग उपाधि आफ्नो पक्षमा पारेको हो । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ७ अंकको अग्रता समेत बनाएको छ ।

च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको ईन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।


प्रकाशित | १२ श्रावण २०७७, सोमबार ०८:२०