ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैनः प्रचण्ड (विज्ञप्ति हेर्नुहोस्)

काठमाडौँ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने बताउनु भएको छ ।
पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । यस्तै प्रचण्डले ओलीले जे जस्तो हर्क गरेपछि बाँकी पार्टीपंक्ति एकतावद्ध रहेको पनि स्पष्ट पार्नु भयो ।
‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, प्रचण्डले विज्ञप्तिमा भन्नु भएको छ । ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

ओली एकजनाको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने ठोकुवा गर्दै प्रचण्डले अगाडि भन्नु भयो, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।’

प्रचण्डले ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई पार्टीको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्सर्ना गरिसकेको भन्दै अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय भइकेको पनि स्पष्ट पार्नु भएको छ ।


प्रकाशित | ६ पुष २०७७, सोमबार १२:५०