नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज, निको हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं: नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन । जसमा २ महिला र एक सय जना पुरुष रहेका छन् ।

धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। सबै झापा ठेगाना भएका उनीहरु १०औँं दिनमा डिस्चार्ज भएका हुन्। कलैया अस्पताल बाराबाट ३४ जना डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट महोत्तरीका एक जना र गौर नर्सिङ होमबाट अस्पताल रौतहटबाट १८ जना डिस्चार्ज भएका छन्। सबै रौतहटका उनीहरु १८ देखि २० दिनमा संक्रमणमुक्त भएर घर फर्किएका छन्।

बुटवलबाट कपिलबस्तु र रुपन्देहीका २७ जना डिस्चार्ज भएका छन्। उनीहरु १३देखि २७ दिनको अवधिमा संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन्। दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुका संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

यसरी हालसम्म प्रदेश १ मा ९१, प्रदेश २ मा १८६, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा १३३ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्। जसमा हालसम्म ३९९ पुरुष र ६८ महिला गरी ४६७ जनाले कोरोना संक्रमण जितेका छन्।

आइतबार नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार १८:०३